जनकपुरधाम — मधेश प्रदेशमा सञ्चालन हुने आगामी SEE तथा कक्षा १२ को परीक्षालाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन माग गर्दै चैत्र ३ गते मंगलबार बिहान करिव ११ बजे इमेल मार्फत मुख्यमन्त्रीलाई खुला पत्र बुझाइएको छ।
श्री जनता माध्यमिक विद्यालय, बरियारपट्टी–सिरहाका शिक्षक रामचन्द्र यादवसहित मधेश प्रदेशका सचेत नागरिक, अभिभावक तथा विद्यार्थीहरूले संयुक्त रूपमा मुख्यमन्त्री कार्यालय, जनकपुरधामलाई सम्बोधन गर्दै उक्त पत्र सार्वजनिक गरेका हुन्।
पत्रमा मधेश प्रदेशको शिक्षा प्रणाली हाल चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै विशेषगरी परीक्षा प्रणालीमा देखिएको अनियमितता, नकल प्रवृत्ति र कमजोर अनुगमनका कारण शिक्षा क्षेत्रको गुणस्तर खस्किँदै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
आगामी २०८२ साल चैत १९ गतेदेखि सञ्चालन हुन लागेको SEE (Secondary Education Examination) र कक्षा १२ को परीक्षा विद्यार्थीहरूको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण परीक्षा भएकाले यसलाई कडाइका साथ व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ। विगतका वर्षहरूमा व्यापक नकल, परीक्षा केन्द्रमा सेटिङ तथा प्रभावका कारण परीक्षा प्रणालीको विश्वसनीयता कमजोर बन्दै गएको पत्रमा उल्लेख गरिएको छ।
पत्रमार्फत मुख्यमन्त्रीलाई शिक्षा क्षेत्रमा सुशासन, पारदर्शिता र सुधारको सन्देश व्यवहारमा उतार्दै परीक्षा प्रणालीलाई व्यवस्थित बनाउन विशेष पहल गर्न आग्रह गरिएको छ। परीक्षा प्रणालीलाई कडाइका साथ लागू गरिए मात्र मधेश प्रदेशको शिक्षा प्रणालीलाई थप ध्वस्त हुनबाट जोगाउन सकिने र विद्यार्थीहरूलाई योग्यताको आधारमा प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरिएको छ।
उक्त खुला पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालयहरू—सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा समेत पठाइएको पत्रमा उल्लेख गरेको छ।











