बिरगंज –पर्सा जिल्लाको बिरगंज र आसपासका क्षेत्रमा हैजा र झाडापखालाको प्रकोप नियन्त्रणभन्दा बाहिरिँदै जाँदा बिरगंज निवासी किरण साहले खानेपानी मन्त्री प्रदीप यादवमाथि प्रत्यक्ष लापरबाहीको आरोप लगाउँदै फोनमै चर्काचर्की गरेकी छिन्।
पछिल्ला केही सातादेखि फैलिएको हैजा र झाडापखालाका कारण दर्जनौँ नागरिकको मृत्यु भइसकेको छ भने सयौँ संक्रमित बिरामीहरू स्थानीय अस्पतालमा उपचार र आवश्यक व्यवस्थापन नपाएर छटपटिरहेका छन्।
किरण साहले आफ्नै परिवारका चार जना सदस्य अहिले आईसीयूमा जीवन–मरणको संघर्ष गरिरहेको बताउँदै, यस्तो गम्भीर अवस्थामा पनि सरकार र जनप्रतिनिधिहरूको निष्क्रिय भूमिकाप्रति तीव्र असन्तोष व्यक्त गरेकी हुन्।
उनले खानेपानी आपूर्ति, सरसफाइ र स्वास्थ्य सेवाप्रतिको संवेदनशीलता अभावले महामारी नियन्त्रणभन्दा बाहिरिएको दाबी गर्दै, पटक–पटक फोन सम्पर्क गर्ने प्रयास गर्दा पनि मन्त्री प्रदीप यादवले फोन नउठाएको आरोप लगाइन्।
साहका अनुसार, “हामी पीडित परिवारहरू मृत्युको त्रासमा छौँ, तर मन्त्रीज्यूहरू मौन छन्। यो सरकारको लापरबाही हो, जसले जनताको जीवनलाई खतरामा पारेको छ।”
स्थानीयहरूका अनुसार, प्रभावित क्षेत्रमा अझैसम्म सुरक्षित खानेपानी वितरण, तत्काल स्वास्थ्य सेवा र सचेतना कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन्। यसबीच, संक्रमितहरूको संख्या दैनिक बढ्दो क्रममा छ।











