सिरहा, बरियारपट्टी — सशस्त्र प्रहरी बल नेपालले भारतबाट अवैध रूपमा लुकिछिपी नेपालतर्फ ल्याइँदै गरेको करिब २५ लाख रुपैयाँ बराबरको सामान विभिन्न मितिमा बरामद गरेको छ। बरियारपट्टीस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले सीमावर्ती क्षेत्रबाट भन्सार छलेर भित्र्याइएका सामान नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल बरियारपट्टी, सिरहाका इन्स्पेक्टर पशुपति खनालका अनुसार बरामद सामानमा लत्ताकपडा, चिनी, चकलेट, बिस्कुटलगायतका दैनिक उपभोग्य वस्तुहरू रहेका छन्। ती सामग्रीहरू भारतबाट अवैध रूपमा लुकिछिपी नेपाल भित्र्याउने क्रममा विभिन्न समयमा फेला पारिएको उनले जानकारी दिए।

यसैक्रममा, पुस ३० गते सशस्त्र प्रहरीले प्रतिबन्धित १०० केजी माछा र स्थानीय रूपमा उत्पादन गरिएको २० लिटर घरेलु मदिरा नष्ट गरेको छ। स्वास्थ्यका लागि हानिकारक तथा कानुनविपरीत भएकाले सम्बन्धित निकायको उपस्थितिमा उक्त सामग्री नष्ट गरिएको इन्स्पेक्टर खनालले बताए। हाल केही महिना देखि स्थानीय प्रहरीको कडाइ र स्थानीयहरूको सहयोगले राजस्व संकलनमा वृद्धि भएको छोटी भन्सार कार्यालय बरियारपट्टीले जनाएको छ।
बरामद गरिएका सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइएको छ। सीमा क्षेत्रमा अवैध ओसारपसार र गैरकानुनी गतिविधि नियन्त्रणका लागि गस्ती तथा निगरानी थप कडा बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।











