झापा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन प्रक्रिया सुरु भएसँगै झापा क्षेत्र नम्बर–५ देशकै सबैभन्दा चासोको निर्वाचन क्षेत्रका रूपमा उभिएको छ।
यस क्षेत्रबाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका छन्। उनीहरूसँगै नेपाली कम्युनिस्ट पार्टीका युवा नेता रञ्जित तामाङ लगायत उम्मेदवार पनि मैदानमा छन्।
झापा–५ लाई चुनावी ‘हटस्पट’ मानिनुको मुख्य कारण यही क्षेत्रमा दुवै दलले आफ्ना उम्मेदवारलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्नु हो। एमालेले ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ भने रास्वपाले शाहलाई भावी नेतृत्वको प्रतीक भन्दै चुनावी मैदानमा उतारेको छ।
चुनावी घोषणाअघि नै शाहले क्षेत्रका मतदाताको मनोविज्ञान अध्ययन गरिसकेको र त्यसकै आधारमा डिजिटल अभियानलाई प्राथमिकता दिएको बताइन्छ। स्रोतका अनुसार उनले दमकमा छुट्टै घर भाडामा लिएर करिब २३ जनाको टोलीमार्फत सामाजिक सञ्जाल केन्द्रित प्रचार सञ्चालन गरिरहेका छन्।
शाहको आक्रामक डिजिटल रणनीतिपछि एमाले अध्यक्ष ओलीले पनि सूचना प्रविधि विज्ञहरूको विशेष टोली परिचालन गर्ने निर्णय गरेका छन्। ओली निकट नेताका अनुसार करिब २५ जना आईटी विज्ञ बुधबार नै झापा पुग्ने तयारीमा छन्।
उक्त टोलीको नेतृत्व अस्गर अली ले गर्नेछन्। अली ओली प्रधानमन्त्री हुँदा उनका आईटी सल्लाहकार थिए। टोलीले ओलीको कार्यकालमा झापा–५ मा भएका विकास निर्माणका कामलाई डकुमेन्ट्री, इन्फोग्राफिक्स र छोटा भिडिओमार्फत सामाजिक सञ्जालमा प्रस्तुत गर्ने रणनीति बनाएको छ।
परम्परागत आमसभा भन्दा डिजिटल कन्टेन्टमार्फत युवा मतदातालाई आकर्षित गर्ने शाहको शैलीलाई काउन्टर दिन ओली स्वयंले प्रविधि–केन्द्रित प्रचारमा जोड दिएको बुझिन्छ।
अघिल्ला निर्वाचनहरूमा झापा–५ ओलीका लागि सुरक्षित क्षेत्र मानिँदै आएको थियो। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनले ठूलो मतान्तरसहित जित हात पारेका थिए। तर, यसपटक मतदाताको धारणा बदलिँदै गएको निष्कर्षसहित एमालेले प्रचार रणनीतिमा व्यापक परिवर्तन गरेको देखिन्छ।











