सिरहा,बरियारपट्टी-नेकपा एमालेका नेता महेश बस्नेत ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को अभिव्यक्तिलाई व्यङ्ग्य गर्दै ‘कुकुरको छाउरा’ भन्ने टिप्पणी गरेपछि मधेशमा तीव्र आलोचना सुरु भएको छ। उक्त टिप्पणीलाई मैथिली भाषा, संस्कृति र मधेशी पहिचानमाथिको अपमानका रूपमा व्याख्या गर्दै सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा विरोध चर्किएको हो।
विवादको केन्द्र बालेन शाहले मधेशी समुदायका सन्दर्भमा मैथिली भाषाको शब्द ‘छौरा’ प्रयोग गरेको विषय हो। बालेनले ‘छौरा’ शब्दलाई मायालु सम्बोधनका रूपमा प्रयोग गरेको भए पनि महेश बस्नेतले त्यसलाई ‘कुकुरको छाउरा’ सँग तुलना गर्दै आलोचना गरेपछि मधेशी समुदाय आक्रोशित बनेको छ। मैथिली भाषामा ‘छौरा’ वा ‘छौडा’ शब्दको अर्थ ‘छोरा’ वा ‘बाबु’ हुने भन्दै यसलाई अपमानजनक अर्थमा प्रयोग गर्नु नस्लीय र सांस्कृतिक अहंकार भएको आरोप लगाइएको छ।
यस विषयमा सामाजिक सञ्जालमा मधेशी अधिकारकर्मी तथा नागरिकहरूले कडा प्रतिक्रिया जनाएका छन्। फेसबुकमार्फत सार्वजनिक अभिव्यक्तिहरूमा एमाले र त्यसका नेताहरूले मधेशी भाषा र पहिचानलाई बारम्बार हेप्ने गरेको आरोप लगाउँदै अब चुप नबस्ने चेतावनी दिइएको छ। कतिपयले यसलाई अज्ञानता मात्र नभई ‘हेट स्पिच’ को संज्ञा दिएका छन्।
विरोधस्वरूप मधेशमा एमालेविरुद्ध बहिष्कार अभियान सुरु भएको घोषणा गरिएको छ। सामाजिक सञ्जालमा #BoycottUML, #RespectMaithili, #MadheshPride, #NoVoteForHaters जस्ता ह्यासट्यागसहित एमालेका उम्मेदवारलाई भोट नदिने, चुनावी अभियान बहिष्कार गर्ने र सामाजिक रूपमा समेत दूरी कायम गर्ने आह्वान गरिएको छ। कतिपय पोस्टमा ‘भोटको चोट’ मार्फत एमालेको जमानत जफत गराउनुपर्ने मागसमेत गरिएको छ।
यसैबीच, एमालेभित्रका मधेशी अनुहारहरूको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। पद र कुर्सीका लागि मातृभाषा र आत्मसम्मानको अपमान सहनु कदापि स्वीकार्य नहुने भन्दै उनीहरूलाई मौन बस्न छोडेर स्पष्ट धारणा सार्वजनिक गर्न दबाब बढेको छ।
महेश बस्नेतको टिप्पणीपछि सुरु भएको यो विवादले चुनावी माहोल तातिएको छ। भाषिक सम्मान, पहिचान र राजनीतिक जिम्मेवारीको विषयलाई केन्द्रमा राखेर उठेको बहसले मधेशको राजनीतिमा एमालेका लागि चुनौती थपिएको विश्लेषण हुन थालेको छ।#Hulakitoday











