जनकपुरधाम । सर्लाहीमा सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी ह*त्या प्रकरणमा प्रहरीले मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला सिरहाको सुखीपुर नगरपालिका–९ बैशाखा घर भई हाल सर्लाहीको मलंगवा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका ३६ वर्षीय प्रमोद कुमार यादवमाथि मिति २०८२ फागुन ३ गते राति करिब ७:५५ बजे गोली प्रहार भएको थियो।
जिल्ला पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत यादवलाई फोन गरेर डेराबाट बाहिर बोलाइ गोली हानिएको थियो। घाइते अवस्थामा प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। पोस्टमार्टम रिपोर्टअनुसार उनको मृत्यु छातीमा लागेको गोलीको कारण भएको पुष्टि भएको छ।
लोकसेवा नियुक्तिको लोभमा ह*त्या
अनुसन्धानका क्रममा पक्राउ परेका महोत्तरी रामगोपालपुर नगरपालिका–५ घर भई सर्लाही बरहथवा–९ शान्तिटोल बस्दै आएका ३४ वर्षीय गणेश कुमार महतो नै घटनाका मुख्य योजनाकार रहेको खुलेको प्रहरीले जनाएको छ।महतो प्रदेश लोक सेवा आयोग, मधेश प्रदेशको सब–इन्जिनियर पदमा एक मात्र वैकल्पिक उम्मेदवार थिए। मुख्य सिफारिसमा परेका प्रमोद यादवको नियुक्ति भएको एक वर्षभित्र पद रिक्त भए आफूले स्थायी जागिर पाउने आशयले योजनाबद्ध हत्या गरेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार उनले आफ्नो साला नाता पर्ने चन्द्रकिशोर सिंह कुशवाहा (२२) र आफ्नै भाई विजय कुमार महतो (२२) लाई प्रयोग गरी योजना बनाएका थिए। विजय महतोले ८० हजार रुपैयाँमा हतियार खरिद गरी उपलब्ध गराएको प्रारम्भिक बयानमा खुलेको छ।
यसरी भयो घटना
प्रहरी अनुसन्धानअनुसार गणेश महतोले आफूलाई ‘राकेश यादव’ भनेर चिनाउँदै मृतकसँग सम्पर्क राख्दै आएका थिए। घटनाको दिन उनले व्हाटस एप कल गरी डेराबाट बाहिर बोलाए र बाहिर निस्कनेबित्तिकै पेस्तोलबाट गोली प्रहार गरे। त्यसपछि मोटरसाइकलमा फरार भएका उनीहरूले रौतहटको गढीमाई नगरपालिका क्षेत्रमा मोटरसाइकल छाडेका थिए।उक्त भारतीय मोटरसाइकल बी आर ०१ एफ जेड १०८२ नम्बरको रौतहटबाट बरामद गरिएको छ। घटनास्थलबाट गोलीको खोका १ थान प्रयोग गरिएको पेस्तोल १ थान, भारतीय नम्बर प्लेटको मोटरसाइकल १ थान मोबाइल फोन ३ थानबरामद गरिएको प्रहरीले जनाएको छ ।
पेस्तोल यसअघि मलंगवा–४ स्थित निर्माणाधीन हनुमान मन्दिरमा बालकले फेला पारी खेलाउने क्रममा पड्किँदा एक बालक घाइते भएको घटनासँग समेत जोडिएको प्रहरीले जनाएको छ। फरेन्सिक परीक्षणपछि थप पुष्टि हुने बताइएको छ।
कानुनी कारबाही
पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अनुसार कर्तव्य ज्यान तथा हातहतियार खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।ज्यान मार्ने नियतले गरिएको कसूरमा जन्मकैदसम्मको सजाय हुने कानुनी व्यवस्था छ। प्रहरीले घटनालाई पूर्वनियोजित आपराधिक षड्यन्त्र ठहर गर्दै थप अनुसन्धान जारी रहेको जनाएको छ।











