काठमाडौँ:उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारी निवासमा रहेको पुरानो सोफा हटाएर नयाँ राख्न माग गरेका छन् ।
ललितपुरको पुल्चोक हरिहरभवनस्थित सरकारी निवासमा रहेको सोफा सेट पुरानो भएकाले त्यसलाई हटाएर नयाँ राख्न उनले माग पेश गरेका हुन् ।
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय स्रोतका अनुसार मन्त्रीका तर्फबाट माग आए पनि खरिद भने गरिएको छैन ।
‘उद्योग मन्त्रीज्यूले नयाँ सोफासेट डिमान्ड गर्नुभएको छ । तर, अब केही सातामै उहाँहरू भैंसेपाटीस्थित नयाँ सरकारी भवनमा सर्ने हुनाले हामीले सोफासेट खरिद गरेका छैनौं,’ संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका ती कर्मचारीले लोकान्तरसँग भने ।
त्यसैगरी, हरिहरभवनस्थित सरकारी निवासमै रहेकी वन तथा वातावरण राज्यमन्त्री रुपा विकले ‘स्टडी टेबल’को ‘डिमान्ड’ गरेकी छन् ।
‘वन तथा वातावरण राज्यमन्त्री विकले स्टडी टेबल डिमान्ड गर्नुभएको छ,’ ती कर्मचारीले थपे, ‘तर, अहिलेसम्म किनेर दिइएको छैन ।’
त्यसबाहेक अन्य कतिपय मन्त्रीबाट दराज समेत माग भएको उनले खुलाए ।
‘अब सबै मन्त्रीहरूको नाम नै भन्न मिल्दैन । कतिपयले नयाँ दराज समेत डिमान्ड गर्नुभएको छ,’ ती कर्मचारीले थपे, ‘दशैंअघि नै सबै मन्त्रीज्यूहरूलाई भैंसेपाटीस्थित निवासमा सार्ने तयारी छ । त्यहाँ दराजसहित सबै फर्निचर तथा फिक्सर पहिले नै जडान गरिसकिएको हुनाले नयाँ खरिद गरेर दिइएको छैन ।’
कतिपय मन्त्रीले पुरानो कार्पेट, गलैंचा हटाएर नयाँ व्यवस्थापन गर्न डिमान्ड गरेको समेत उनले खुलाए । नयाँ कार्पेट, गलैंचा, पर्दाको डिमान्ड भए पनि पुरानै कार्पेट, गलैंचा र पर्दालाई वाश गरेर पुनः ल्याइएको उनले खुलाए ।
स्रोत:लोकान्तर समाचार
सबैजसो मन्त्रीज्यूको निवासबाट पहिले ओछ्याइएको कार्पेट, गलैंचा, पर्दा हटाएर नयाँ किनेर लगाइदिन आदेश आउँछ,’ उनले थपे, ‘तर, हामीसँग रहेको पुरानै सेटलाई वाश गरेर दिने गरेका छौं । नयाँ नै किनेर दिने गरेका छैनौं ।’
सिरक, डसना, ब्ल्यांकेटलगायत ओछ्याउने सामान भने किनेर नयाँ नै दिने गरिएको उनले खुलाए ।
‘हामीले हरेक मन्त्री परिवर्तन हुँदा बेडसीट, सिरक, ब्ल्यांकेट नयाँ नै किनेर दिने गरेका छौं । एक मन्त्री निवासमा बढीमा ६ जनालाई पुग्नेगरी किनेर दिने गरिएको छ,’ उनले थपे, ‘सप्लायर्सले लगेका विभिन्न आइटममध्ये मन्त्रीज्यूहरूलई रोज्न, छान्न दिएर आपूर्ति गर्ने गरिएको छ,’ उनले थपे, ‘त्यसबाहेक किचेन सेटका सबै भाडा बर्तनहरू पनि नयाँ नै दिने गरिएको छ ।’
त्यसबाहेक मन्त्रीको सुरक्षामा खटिने सुरक्षाकर्मीहरू (पीएसओ)का लागि लो बेडको डिमान्ड हुने गरेको उनले खुलाए । डिमान्डअनुसार लो बेड आपूर्ति गर्ने गरिएको उनको भनाइ छ ।
भैंसेपाटीमा ५ मन्त्री र राष्ट्रिय सभा उपाध्यक्ष सरे
उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल, खानेपानी मन्त्री प्रदीप यादव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता भैंसेपाटीस्थित नयाँ भवनमा सरिसकेका छन् ।
खानेपानी मन्त्री यादव र महिला बालबालिका मन्त्री सुडी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमै मन्त्री हुँदा भैंसेपाटीमा सरेका थिए । प्रचण्ड सरकारबाट राजीनामा दिएर बाहिरिँदा पनि ती दुई मन्त्रीले आवास खाली गरेका थिएनन् ।
‘केपी शर्मा ओली नेतृत्वको सरकारमा पुनः मन्त्री बनेपछि उहाँहरू पहिलेदेखि नै बस्दै आएको निवासमा बसिरहनुभयो,’ संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अर्का एक कर्मचारीले लोकान्तरसँग भने,’ उपप्रधान तथा अर्थमन्त्रीज्यू शुरूमा आफ्नै निजी निवासमा बस्नुभएको थियो । पुल्चोकस्थित निवासमा जानुभन्दा भैंसेपाटीकै निवासमा एकैपटक जाने भन्नुभयो ।’
त्यसपछि सामान्य प्रशासन मन्त्री र भौतिक पूर्वाधार मन्त्री पनि भैंसेपाटीमा सरेको उनले बताए ।
भैंसेपाटीस्थित नयाँ सरकारी निवासमा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे पनि सरिसकेकी छन् ।
रक्षामन्त्री मानवीर राई र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी भने आगामी साता भैंसेपाटीमा सर्ने तयारी गरेको ती कर्मचारीले खुलाए ।
गृहमन्त्री रमेश लेखक पनि भैंसेपाटीमा सर्ने तयारीमा जुटेको उनले बताए ।
३ मन्त्री र १ राज्यमन्त्री आफ्नै निवासमा
सरकारका तीन मन्त्री र १ राज्यमन्त्री भने आफ्नै निजी निवासमा बसेका छन् ।
उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री डा. आरजु राणा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ आफ्नै निजी निवासमा बसिरहेका हुन् ।
निजी निवासमा बस्ने मन्त्रीहरूलाई शुरूमा एकमुष्ठ २ लाख रुपैयाँ र घरभाडा बापत मासिक ४० हजार रुपैयाँ दिने गरिन्छ । तर, निजी निवासमा बसिरहेका कुनै पनि मन्त्रीले अहिलेसम्म रकमका लागि ‘क्लेम’ गरेका छैनन् ।
‘अहिलेसम्म कुनै पनि मन्त्रीज्यूले एकमुष्ठ २ लाख र घर भाडाबापत पाउने मासिक ४० हजार रुपैयाँको क्लेम गर्नुभएको छैन,’ ती कर्मचारीले खुलाए ।
बाँकी मन्त्री र २ जना राज्यमन्त्री भने हरिहरभवनस्थित सरकारी निवासमै बसिरहेका छन् ।











