सिरहा । सिरहा जिल्ला कारागार आइतबार रणमैदान बन्यो। सुरक्षाको नाममा सामग्री हटाउने क्रममा अस्थायी चौकीदार विजय कुमार महतोको ज्यादती र धम्कीपूर्ण व्यवहारपछि कैदीबन्दीहरू आक्रोशित बन्दै भीषण झडप सुरु भएको हो।
गत साउन ३ गते गरिएको अनुगमनमा कारागारभित्र फलामको रड, दाउरा, इँटा, फलाम काट्ने मेसिनजस्ता खतरनाक सामग्री भेटिएका थिए। यी वस्तु सुरक्षाका लागि खतरा भएको भन्दै साउन ४ गतेबाट हटाउन थालिएको थियो। तर हटाउने क्रममा चौकीदार महतोले कैदीलाई आतंकित गर्न खोजेपछि विवाद चर्कियो र झडपमा परिणत भयो।
झडपमा चौकीदार महतोसहित १३ जना घाइते भएका छन्। तीमध्ये दुईको अवस्था गम्भीर छ भने अन्यलाई सामान्य चोटपटक लागेको प्रहरी स्रोतको दाबी छ। घाइते सबैलाई प्रादेशिक अस्पताल सिरहा लगिएको र गम्भीर अवस्थाका दुई कैदीलाई काठमाडौं रिफर गरिएको छ।
स्थिति नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) विरेन्द्र पासवानको नेतृत्वमा ३० जना प्रहरी खटाइएका छन्। त्यस्तै, अस्पताल परिसरमा सुरक्षा बलियो बनाउन प्रहरी निरीक्षक (प्र.नि.) आकाश उप्रेतीको कमान्डमा थप १५ जना प्रहरी परिचालन गरिएको छ।
घाइते हुनेहरूमा मकेश्वर महतो (बर्दिबास–६, महोत्तरी), दिपक ठाकुर (मधुबनी, बिहार), अञ्जली कुशवाहा (कर्जन्हा–७, सिरहा), रिपेन्द्र झा (महोत्तरी–१), जयप्रकाश चौधरी (बिसंहरीया–८, सप्तरी), शिव कुमार राय (सहिदनगर–१, धनुषा), दिपेन्द्र कुमार यादव (लहान–५, सिरहा), सन्तोष कुमार सिंह (औरही–१, सिरहा), सत्य नारायण कारक (सिरहा नगरपालिका–२०), जितन साह (मिर्चैया–७, सिरहा), विश्वमित्र महतो ‘बरुण’ (कर्जन्हा–२, सिरहा) र बैजु दास (जनकपुर उपमहानगरपालिका–१५, धनुषा) रहेका छन्। घटनाको विस्तृत अध्ययन भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।











