काठमाडौं । लामो रस्साकस्सीपछि राष्ट्रपति भवन शीतल निवासमा प्रतिनिधिसभा विघटन र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने विषयमा सहमति जुटेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज राति ९ बजे कार्कीलाई प्रधानमन्त्रीको रूपमा शपथ गराउने तयारी गरिएको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनका अनुसार मन्त्रिपरिषद् गठन पनि आजै हुनेछ र त्यसको पहिलो बैठक शीतल निवासमै बस्नेछ। सो बैठकले प्रतिनिधिसभा विघटनसहितका प्रस्तावहरू पारित गरी राष्ट्रपतिलाई सिफारिस गर्नेछ।
“मन्त्रिपरिषद्को सिफारिसपछि प्रतिनिधिसभा विघटन राष्ट्रपतिबाट स्वीकृत हुनेछ,” पोखरेलले भने।
अन्तरिम सरकार गठनका लागि जेन–जी समूहका प्रतिनिधिहरू, राष्ट्रपति पौडेल, सुशीला कार्की तथा विभिन्न कानुनविद्हरूबीच गम्भीर वार्ता र समन्वय चलेको थियो। संविधानको व्यवस्था अनुसार सत्ता हस्तान्तरण गर्नका लागि बिहीबार र शुक्रबार राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल तथा राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरबीच सघन छलफल भएको थियो।
यद्यपि, संसद विघटन कसको सिफारिसमा गरिने भन्ने विषयमा राष्ट्रपति पौडेल र जेन–जी समूहबीच मतभेद रहँदा प्रधानमन्त्री नियुक्तिमा केही ढिलाइ भएको थियो।