बरियारपट्टी:नेपालमा नाथे एउटा क्याम्पस स्थापना गर्न यत्रो बेल्ना बेल्नु पर्छ भन्ने कुरा थाहा पाएको भए बरियारपट्टी गाउवासीहरूले कुनै अर्कै थोकमा हात हाल्थे । तर, जङ्गली देशको आगु नाथ नपिछे पगहाजस्तै नेताहरूले यसलाई पाखण्डीहरूको अड्डा बनाई दिएका छन । होइन भने एक दशकभन्दा बढी समयदेखिको जनताको चाहनासङ्ग यसरी त्रिभुवन विश्वविद्यालय तथा पूर्वान्चल विश्वविद्यालयले खेलबार गर्ने थिएन । शायद प्राडा अमर प्र यादवजस्तो कम्पिटिसन जितेर आएका भिसी नभएको भए र कुनै पार्टी परजीवी नेताको सिफारिसमा नियुक्ती पाएको भिसी भएको भए राजर्षी जनक विश्वविद्यालयबाट पनि मुश्किलले हामी सम्बन्धन पाउथ्यौ । किनकि, यहाँ राजनीति होइन,दलनीति चल्छ । दलहरूले देशलाई बपौटी ठान्छन जसरी एकताका राजाले भनेगर्थे ” मेरो पुर्खाले आर्ज्याको मुलुक।”
जे होस, बरियारपट्टी, गरगम्मा, हरिपुरवासीहरू भोज खानमात्र बहादुर होइन, क्याम्पस स्थापना गर्न पनि त्यतिकै सिपालु छन भन्ने कुरा उनको सघर्षको कथा र व्यथाले उजागर गरेको छ । मैले त उत्प्रेरकको काममात्र गरे । 2068 सालमा प्रम डा बाबुराम भट्टराईको सल्लाहकार भएको बेला पहिलो पटक स्कूलमा बैठक गरेर वरियारपट्टी शिक्षाको हब बन्न सक्छ भन्ने कुराको बोध गाउँवासीलाई गराएको थिए । बुद्धि, विवेक , सहनशीलता र सहिष्णुताको पर्यायवाची बनिसकेका बरियारपट्टी हुलाकी सडकको एकलो गाउँ हो जसले यो अभिभारा उठाउन सक्थ्यो भन्ने कुरा बुझेर नै बोकाउन काम गरिएको हो । त्यो गरेर पनि महाता बरियारपट्टी गा. पा .ले देखायो । अब यसको देखासिकीको सबैभन्दा ठूलो प्रभाव भगवानपुरमा पर्नेछ । किनकि, भगवानपुर गाउँपालिकासङ्ग त्यो सामर्थ्य र शक्ति विद्धमान छ । आजभन्दा डेढ बर्ष अगाडि नै मैले सिरहा विकास मन्चको बैनरमा एउटा वृहत् गोष्ठी गरेर यो सन्देश दिइसकेको छु ।

अर्थात् विस 2026 सालमा पहिलो क्याम्पसको स्थापना सिरहामा भएपनि कमलादेखि बलानसम्म हुलाली सडकमा एउटामात्र क्याम्पस टिमटिमाईरहेका थिए । जबकि यो 6 दशकको अबधिमा लहानमा 6 र गोलबजारमा 2 र मिर्चैयामा 3 वटा कालेजहरूको स्थापना भए । सिरहाभन्दा पूर्व हुलाकी सडक सफाचट ! बल्ल बरियारपट्टीले यो बिरा थामेको छ । हुलाकी सडकमा शिक्षाको यो दुर्दशा छ ।











