बरियारपट्टी नाकामा ६ महिनामै १३१ प्रतिशतले राजस्व वृद्धि ,शस्त्र प्रहरी निरीक्षक पशुपति खनालको सफल नेतृत्व
सिराहा, बरियारपट्टी — सिराहा जिल्लाको बरियारपट्टी क्षेत्रमा पछिल्लो समय भन्सार राजस्व संकलनमा उल्लेखनीय वृद्धि देखिएको छ। विशेषगरी सशस्त्र प्रहरी निरीक्षक पशुपति खनाल कार्यरत भएपछि राजस्व संकलनमा लगातार क्रमिक रूपमा सुधार आएको तथ्यांकले देखाएको छ। अघिल्लो आर्थिक वर्षमा रु. ३१,००,७९० बराबरको भन्सार दाखिला भएको थियो भने चालु आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म रु. ५७,७५,१९६ बराबरको खाद्य सामग्री, लत्ताकपडा तथा कस्मेटिक सामानहरू भन्सार कार्यालयमा दाखिला भएको निरीक्षक खनालले जनाएको छ। त्यसमध्ये निरीक्षक खनाल हाजिर भएदेखि कात्तिक महिनादेखि हालसम्म मात्रै रु. ४१,०३,६७० बराबरको सामान भन्सार दाखिला भएको तथ्यांकले देखाएको छ। पछिल्ला ६ महिनामा मात्र निरीक्षक खनालको कार्यसम्पादनमा कुल १३१.७२ प्रतिशतले भन्सार दाखिलामा वृद्धि भएको देखिएको छ। साथै, छोटी भन्सार कार्यालय बरियारपट्टीमा पनि महसुल संकलनमा वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा रु. ४८,३०,६३१ महसुल उठेकोमा चालु आर्थिक वर्षमा हालसम्म रु. ४९,७५,२४७ उठिसकेको छ। स्थानीयवासीका अनुसार निरीक्षक खनाल आएपछि तस्करी नियन्त्रणमा ठूलो सफलता मिलेको छ। राति हुने तस्करी गतिविधि लगभग अन्त्य भएको छ भने संगठित तस्कर समूहको सञ्जाल समेत भत्किएको देखिन्छ। भन्सार धरौटी नतिरी फरार भएका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाउने कार्यसमेत भइरहेको छ। निरीक्षक खनाललाई निडर र काबिल अफिसरका रूपमा चिनिन्छ भने उनको मानवीय पक्ष पनि उत्तिकै प्रशंसनीय रहेको स्थानीयहरू बताउँछन्। माघ महिनामा उनले अति विपन्न तथा एकल महिलाहरूलाई ‘ सिमा बासीसंग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत ३० थान कम्बल वितरण गरेका थिए। त्यसैगरी, सशस्त्र प्रहरी बल (APF) को जिल्ला कमाण्ड पनि सक्रिय र सक्षम देखिएको छ। सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीलाई कडाइका साथ परिचालन गर्दै अवैध गतिविधि नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको छ। समग्रमा, अघिल्लो वर्षको तुलनामा बरियारपट्टी क्षेत्रमा तस्करी तथा बिचौलियाको प्रभाव घट्दै गएको देखिएको छ भने भन्सार राजस्व संकलनमा उल्लेखनीय सुधार आएको तथ्यांकले देखाएको छ।

