सिरहा, बरियारपट्टी — शनिबार साँझ आएको शक्तिशाली हावाहुरीका कारण सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारी (छोटकि टोल) का करिब पाँच घरपरिवार घरवारविहीन भएका छन्। हावाहुरीले घरका छाना उडाएर लग्दा स्थानीय जितन सिंह, रामप्रसाद चौधरी र मनोज सिंह लगायतका परिवार प्रभावित बनेका हुन्।
घरको छाना पूर्ण रूपमा क्षति भएपछि पीडित परिवारहरू हाल खुला आकाशमुनि बस्न बाध्य भएका छन्। सुरक्षित आश्रय नहुँदा विशेषगरी बालबालिका तथा वृद्धवृद्धामा स्वास्थ्य समस्या देखिन थालेको स्थानीय नेता राम सोगारथ यादवले बताएका छन्।
पीडितहरूको आर्थिक अवस्था कमजोर रहेकोले तत्काल घर मर्मत वा पुनर्निर्माण गर्न नसक्ने अवस्था रहेको छ। उनीहरूले स्थानीय सरकार, सम्बन्धित निकाय तथा विभिन्न संघसंस्थासँग राहत तथा पुनःस्थापनाका लागि सहयोगको अपिल गरेका छन्।
स्थानीयवासीले प्रभावित परिवारलाई अस्थायी बसोबास, खाद्यान्न तथा स्वास्थ्य सेवाको व्यवस्था गर्न बरियारपट्टी पालिका तथा रोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।











