लाहान – सिरहाको लहानस्थित विकास ट्रेडर्स सुनचाँदी पसलमा डकैती गर्ने योजना बनाएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

लहान नगरपालिका-७ का व्यवसायी विकास कुरमा शारडाले जाहेरी दिएपछि, जिल्ला प्रहरी कार्यालय सिरहाले सोमबार राति विशेष कारबाही गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सुखिपुर नगरपालिका-८ का इन्द्र नारायण चौधरी (ईन्दल), लहान नगरपालिका-२२ का देव कुमार मुखिया (भैरव), भारतको पश्चिम बंगाल हुगलीका मेहराज मोन्डल (निरोज) रहेका छन्।

यसै क्रममा, प्रहरीले मङ्गलबार लहान नगरपालिका-४ का दिनेश विश्वकर्मालाई समेत पक्राउ गरी अदालतबाट म्याद थप गरेको छ। प्रहरीका अनुसार उनीहरू सुनचाँदी पसल लुट्ने योजनामा रहेको सूचनाका आधारमा कारबाही गरिएको हो।