काठमाडौं / सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि विवादमा आएको मदरसाको कानुनी हैसियत तथा त्यससँग सम्बन्धित विषयमा सरकारले तत्काल छानबिन अघि बढाउने भएको छ । गृह मन्त्रालय र घटनामा ज्यान गुमाएका दुई युवाका परिवारबीच भएको ७ बुँदे सहमतिपछि अनुसन्धान प्रक्रिया अघि बढ्ने भएको हो ।

गृह मन्त्रालयमा बिहीबार भएको सहमतिअनुसार साउन १० गते देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सरकारले सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउनेछ । साथै मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइने सहमति भएको छ ।

सहमतिमा घटनाको निष्पक्ष, प्रभावकारी र तथ्यपरक अनुसन्धान गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्ने उल्लेख गरिएको छ । त्यससँगै विवादित मदरसाको कानुनी हैसियत तथा त्यससँग सम्बन्धित अन्य विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिनेछ ।

यस्तै, मृतकका परिवारका एकजना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव र सिफारिस तत्काल कार्यान्वयन गर्ने विषय पनि सहमतिमा समेटिएको छ ।

सहमतिअनुसार मृतकद्वयको स्मृतिमा स्थानीय सरकारसँग समन्वय गरेर देवानगञ्ज गाउँपालिकाभित्र उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिनेछ । साथै शुक्रबार दिउँसो २ बजे मृतकको अन्त्येष्टि गर्ने सहमति पनि भएको छ ।

देवानगञ्ज घटनापछि उत्पन्न तनाव साम्य पार्दै पीडित परिवारलाई न्याय दिलाउने र घटनासँग सम्बन्धित सबै पक्षको निष्पक्ष अनुसन्धान सुनिश्चित गर्ने उद्देश्यले उक्त सहमति गरिएको गृह मन्त्रालयले जनाएको छ ।