बरियारपट्टी,१३ साउन।सिरहाको बरियारपट्टीस्थित श्री जनता माध्यमिक विद्यालय (प्राविधिक धार)को सभा हलमा गुरु पूर्णिमा उत्सव–२०८३ को अवसरमा” सम्मान तथा लागूऔषध दुर्व्यसन अन्त्यका लागि हाम्रो भुमिका विषयक संवाद तथा सम्मान” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य माननीय संजय कुमार यादवको आयोजना तथा अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका सभामुख माननीय राम अषिस यादव प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा बोल्दै सभामुख यादवले समाज रूपान्तरणका लागि गुरु, शिक्षा र दूरदर्शी नेतृत्वको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै गुणस्तरीय शिक्षामार्फत सक्षम नेतृत्व निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका अध्यक्ष माननीय संजय कुमार यादव ले गुरुप्रति सम्मान व्यक्त गर्दै शिक्षा, अनुशासन र सकारात्मक सोचले मात्र समृद्ध समाज निर्माण सम्भव हुने धारणा राख्नुभयो। उहाँले गुरुहरूको योगदानको कदर गर्दै शिक्षाको विकासमा सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा अतिथिको रूपमा प्रदेश सभा सदस्य माननीय जिबछि यादव, बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महत्तो, उपाध्यक्ष ममता कुमारी यादव, सुरक्षा निकायहरू, वडा अध्यक्ष बिनोद कुमार यादव, हुलाकी बहुमुखी क्याम्पसका प्रमुख दिलिप कुमार यादव तथा जनता मा.वि. प्राविधिक धार, बरियारपट्टी–३ का प्रधानाध्यापक बिरवल यादव लगायतले आफ्ना  मन्तव्य व्यक्त गर्दै गुरु–शिष्य परम्परा, नैतिक शिक्षा तथा नेतृत्व विकासको महत्वमाथि प्रकाश पार्नुभयो।

कार्यक्रममा शिक्षकहरूलाई सम्मान गरिएको थियो। विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमले लागुऔषत बाट  युवाहरूमा पर्ने  नकारात्मक प्रभाव तथा  गुरुप्रतिको सम्मान र शिक्षामार्फत सक्षम नेतृत्व विकास गर्ने सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।