साउन १२ मै साउन २८ सम्मको हाजिर! सुखीपुर नगर अस्पताल प्रमुखको ‘अग्रिम हस्ताक्षर’ ले उठायो सुशासनमाथि प्रश्न
सिरहा, १२ ,साउन। सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालमा सरकारी हाजिरी रजिस्टरमै भविष्यको मितिसम्म अग्रिम हस्ताक्षर गरिएको भेटिएपछि कर्मचारी अनुशासन, पारदर्शिता र सुशासनमाथि गम्भीर प्रश्न उठेको छ।
प्राप्त जानकारीअनुसार अस्पतालका प्रमुख डा. लुस्युनकुमार यादवले साउन १२ गते नै साउन २८ गतेसम्मको हाजिरी अग्रिम रूपमा हस्ताक्षर गरेको पाइएको हो। सरकारी कार्यालयमा दैनिक उपस्थितिको अभिलेखका रूपमा प्रयोग हुने हाजिरी रजिस्टरमा भविष्यको मितिसम्म हस्ताक्षर गरिनु प्रशासनिक दृष्टिले गम्भीर विषयका रूपमा हेरिएको छ।
स्थानीयवासी तथा सरोकारवालाहरूले यस्तो कार्यले सरकारी कार्यालयमा जवाफदेहिता र अनुशासन कमजोर बनाउने भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्। उनीहरूका अनुसार सार्वजनिक सेवासँग प्रत्यक्ष सम्बन्धित कार्यालयमा यस्ता गतिविधिले नागरिकको विश्वासमा समेत असर पार्न सक्छ।
यस विषयमा प्रतिक्रिया दिँदै अस्पताल प्रमुख डा. यादवले यो सामान्य प्राविधिक त्रुटि मात्र भएको दाबी गरेका छन्। उनले कुनै गलत नियतले नभई सामान्य भूलवश यस्तो भएको भन्दै त्यसलाई अनावश्यक रूपमा विवाद बनाउन नहुने बताएका छन्।

उता, सुखीपुर नगरपालिकाका नगर प्रमुख, जो डा. यादवका पिता पनि हुन्, यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। नगर प्रमुखको मौनताप्रति पनि विभिन्न कोणबाट प्रश्न उठ्न थालेको छ।

