नवराजपुर गाउँपालिका- ३ की आनन्दी सदायले बलात्कार प्रयास भएको तीन महिनापछि मृत्युको बाटो रोजिन् । उनी आज दिउँसो करिब २ बजे घरमै झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीको टोलीले कानूनी प्रक्रिया पूरा गरी मृत फेला परेकी आनन्दीको शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको छ ।

दिदीको घर बरियारपट्टी गइरहेको बेला गत पुस ९ गते बिहान करिब ११ बजे नवराजपुर गाउँपालिकामै पर्ने जगतपुरमा आनन्दीलाई दुई युवाले फिल्मी शैलीमा घेरेर आँप बगैंचामा लगेका थिए ।

उनीहरुले हरिनारायण यादवको आँप बगैंचामा लगेर आनन्दीमाथि बलात्कारको प्रयास गरेका थिए, तर आनन्दी भाग्न सफल भएकी थिइन् । घर पुगेर उनले घटनाबारे आमालाई बताएपछि तत्कालै प्रहरीलाई खबर गरिएको थियो ।

आनन्दीकी आमा विलटौन देवी सदायले बलात्कारको प्रयास गर्ने २२ वर्षीय सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवमाथि पुस ९ मै किटानी जाहेरी दर्ता गराइन् । आरोपीहरु अहिलेसम्म पक्राउ परेका छैनन् ।

स्थानीयका अनुसार बलात्कारको प्रयास भएदेखि आनन्दी श्रीमानको घर गएकी थिइनन् । न्याय नपाएकै कारण उनले आत्महत्या गरेको उनीहरुको भनाइ छ ।

स्रोत:Nepalpress