सिरहा,१७ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहामा जिल्ला अधिवेशनलाई लिएर विवाद सतहमा आएको छ। पार्टीका नेता पुरुषोत्तम यादवले facebook मार्फत पार्टीको  विधि, विधान र लोकतान्त्रिक प्रक्रियाअनुसार अधिवेशन हुनुपर्ने भन्दै नेतृत्वप्रति कडा असन्तुष्टि जनाएका छन्।
यादवले रास्वपा कुनै व्यक्तिको निजी प्रभावमा चल्ने पार्टी नभई हजारौं कार्यकर्ता र लाखौं नागरिकको आशाको अभियान भएको बताएका छन्। उनले कतिपय वडामा अधिवेशन भएर पनि दर्ता नगरिएको तथा सिराहा नगरपालिकामै अधिवेशन नभएको जानकारीले जिल्ला अधिवेशनको वैधानिकतामाथि प्रश्न उठाएको दाबी गरे।
उनले योजनाबद्ध रूपमा संगठन कमजोर बनाउने, सीमित घेराभित्र निर्णय थोपर्ने र कार्यकर्ताको आवाज दबाउने प्रयास भइरहेको आरोप लगाउँदै यस्ता गतिविधि स्वीकार्य नहुने बताए।
यस्तै, अधिवेशन प्रक्रियामा विवाद र अपारदर्शिता कायम रहे कुनै अप्रिय घटना भए त्यसको सम्पूर्ण नैतिक तथा संगठनात्मक जिम्मेवारी तत्कालीन जिल्ला सभापति र सचिवले लिनुपर्ने चेतावनी समेत दिएका छन्।