बटसावित्री पर्व सिरहाका स्थानीय तहमा धुमधामका साथ मनाइयो
सिरहा, जेठ २ । मिथिलाञ्चलको सिरहा जिल्लाका विभिन्न स्थानीय तहहरूमा हिन्दु महिलाहरूले श्रद्धा, भक्ति र उत्साहका साथ बटसावित्री पर्व मनाएका छन् । जिल्लाका १७ वटै स्थानीय तहमा विवाहित महिलाहरू बिहानैदेखि व्रत बसी वरको रुखको पूजा गर्दै परिवारको सुख, शान्ति तथा श्रीमानको दीर्घायुको कामना गरेका थिए ।
बरियारपट्टी, लहान, गोलबजार, धनगढीमाई, मिर्चैया लगायतका नगर तथा गाउँपालिकाका मन्दिर, चौतारा र सार्वजनिक स्थलहरूमा महिलाहरूको उल्लेख्य सहभागिता देखिएको थियो । महिलाहरू परम्परागत मैथिली पहिरनमा सजिएर पूजा सामग्रीसहित वरको रुख वरिपरि पूजा आराधना गर्दै सावित्री र सत्यवानको कथा श्रवण गरेका थिए ।

पर्वका अवसरमा स्थानीय बजारहरूमा पूजा सामग्री, फलफूल, मिठाई तथा नयाँ कपडाको व्यापार समेत बढेको व्यापारीहरूले बताएका छन् । कतिपय स्थानीय तहहरूले सांस्कृतिक कार्यक्रम तथा सरसफाइ अभियानसमेत सञ्चालन गरेका थिए ।
मिथिला संस्कृतिमा विशेष महत्व बोकेको बटसावित्री पर्वले पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै समाजमा धार्मिक तथा सांस्कृतिक एकताको सन्देश दिएको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ ।
प्रत्येक वर्ष जेठ अमावस्याका दिन मनाइने यो पर्वलाई मिथिलाञ्चल क्षेत्रमा विशेष आस्थाका साथ मनाउने गरिन्छा।

