सिरहा, जेठ ५ — सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण मुख्यालय सिरहाले विशेष सूचनाको आधारमा सञ्चालन गरेको मध्यरातिको अपरेशनमा ठूलो परिमाणमा अवैध बिउबिजन बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार मंगलबार बिहान करिब २:१५ बजे बरियारपट्टि गाउँपालिका–१ स्थित कारिलाल यादवको गोठमा लुकाइछिपाइ राखिएको अवस्थामा फर्सी, लौका र काक्रोको बिउबिजन फेला पारिएको हो। गोठभित्र बेवारिसे अवस्थामा राखिएको उक्त बिउबिजन ३८ बोरा बराबर १ हजार ५२० किलोग्राम रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएको बिउबिजनको नेपाली बजार मूल्य करिब २२ लाख रुपैयाँ बराबर पर्ने अनुमान गरिएको छ। प्रहरीका अनुसार प्रतिकेजी १ हजार ५०० रुपैयाँका दरले मूल्यांकन गर्दा उक्त रकम बराबरको सामान हुन आउने देखिएको हो।
खुला सीमाक्षेत्रको फाइदा उठाउँदै पछिल्लो समय अवैध रूपमा बिउबिजन भित्र्याउने तथा भण्डारण गर्ने गतिविधि बढ्दै गएको अवस्थामा सशस्त्र प्रहरीले विशेष निगरानी तीव्र बनाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको बिउबिजन आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइने तयारी गरिएको छ।