सिरहा-सिरहामा एसईई र कक्षा १२ को परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल र स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध विद्यार्थी संगठनहरू आन्दोलित भएका छन्।
संयुक्त विद्यार्थी संगठनले यस घटनाको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय सिरहा अगाडि सोमबार दिउँसो १२ बजे प्रदर्शन गर्ने घोषणा गरेको छ।
उनीहरूको मुख्य मागहरू:
नष्ट गरिएका मोबाइल तथा घडीको क्षतिपूर्ति
घटनामा संलग्न पक्षमाथि निष्पक्ष छानबिन
मोबाइल पसलसँग मिलेमतो भएको आरोपको अनुसन्धान
विद्यार्थीहरूले “विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार” भन्ने नारासहित आन्दोलन अघि बढाउने बताएका छन्।
यसअघि जफत गरिएका करिब ५०० मोबाइल तथा स्मार्ट घडीहरू नष्ट गरिएको विषय सार्वजनिक भएपछि घटना विवादमा तानिएको हो। प्रहरीले यस्तो निर्णय गरेको भन्दै चौतर्फी आलोचना समेत भइरहेको छ।