छात्रामाथि दुर्व्यवहार प्रकरणः रामप्रताप रामप्रसाद जनता बहुमुखी क्याम्पस प्रमुखलाई विज्ञप्तिमार्फ २४ घण्टे अल्टिमेटम
सिरहा,२१ जेष्ठ । सिरहाको गोलबजारस्थित रामप्रताप रामप्रसाद जनता बहुमुखी क्याम्पसमा अध्ययनरत दुई छात्रामाथि भएको भनिएको दुर्व्यवहार घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरूले क्याम्पस प्रमुखलाई २४ घण्टे अल्टिमेटम दिएका छन्।विद्यार्थीहरूले जेठ २१ गते जारी गरेको विज्ञप्तिमार्फत बीबीएस तेस्रो वर्षमा अध्ययनरत दुई छात्रामाथि सोही क्याम्पसका केही विद्यार्थीले दुर्व्यवहार गरेको दाबी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।विज्ञप्तिअनुसार घटनाबारे तत्काल क्याम्पस प्रशासनलाई जानकारी गराइएको र दोषीमाथि कारबाही गरिने आश्वासनसमेत प्राप्त भएको थियो। तर हालसम्म निष्पक्ष अनुसन्धान प्रक्रिया अघि नबढेको तथा कसैमाथि स्पष्ट कारबाही नभएको भन्दै विद्यार्थीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। यसले क्याम्पस प्रशासनको जिम्मेवारीबोध, संवेदनशीलता र निष्पक्षतामाथि प्रश्न उठाएको उनीहरूको भनाइ छ।विद्यार्थीहरूले पीडित छात्रामाथि दबाब सिर्जना गरी घटनालाई सामसुम पार्ने प्रयास भइरहेको आरोपसमेत लगाएका छन्। यस्ता गतिविधिले सम्पूर्ण विद्यार्थी समुदायमा त्रास, चिन्ता र आक्रोश बढाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा क्याम्पस प्रमुखको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। पीडितलाई न्याय दिलाउन र दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने अवस्थामा घटनालाई सामान्यीकरण गर्ने तथा विषयलाई दबाउने प्रयास भएको आरोप विद्यार्थीहरूले लगाएका छन्। साथै, पीडितको पक्षमा बोल्ने विद्यार्थीमाथि दुर्व्यवहार र गालीगलौजसमेत भएको दाबी गरिएको छ।
विद्यार्थीहरूले विज्ञप्ति जारी भएको मितिले २४ घण्टाभित्र घटनाको निष्पक्ष छानबिन प्रक्रिया सार्वजनिक गर्न, दोषीमाथि आवश्यक कारबाही अघि बढाउन तथा पीडितलाई न्याय सुनिश्चित गर्न माग गरेका छन्।
माग सम्बोधन नभए सम्पूर्ण विद्यार्थी समुदाय, सरोकारवाला पक्ष तथा नागरिक समाजको सहभागितामा क्याम्पस प्रशासनविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिइएको छ। आवश्यक परे शान्तिपूर्ण रूपमा क्याम्पसको पठनपाठन तथा प्रशासनिक गतिविधिसमेत अवरुद्ध गरिने विज्ञप्तिमा उल्लेख छ।
विद्यार्थीहरूले पीडितमाथि कुनै पनि प्रकारको दबाब, धम्की वा प्रतिशोधपूर्ण व्यवहार भए त्यसको कडा प्रतिवाद गरिने तथा सम्बन्धित निकायमा विषय उठाइने चेतावनी दिएका छन्।
उक्त विज्ञप्तिको बोधार्थ क्याम्पस सञ्चालक समिति, क्याम्पस प्राध्यापक संघ, जिल्ला प्रशासन कार्यालय सिरहा तथा जिल्ला प्रहरी कार्यालय सिरहालाई समेत दिइएको छ।
विद्यार्थीहरूले “विद्यार्थीको सुरक्षा, सम्मान र न्यायमा कुनै सम्झौता हुन सक्दैन” भन्दै दोषीमाथि कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न सम्बन्धित पक्षसँग माग गरेका छन्।

