सिरहा-रसुवामा गएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकका लागि नेपाली कांग्रेस सिरहाका युवा नेता तथा समाजसेवी सरोज कुमार यादव राहत सामग्री लिएर रसुवा पुगेका छन्।

राष्ट्र विपत्तिमा परेका बेला पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले यादवले सिरहाबाट राहत सामग्री संकलन गरी प्रभावित क्षेत्रतर्फ लगेका हुन्। उनले राहत सामग्री नुवाकोटको विदुर नगरपालिकालाई हस्तान्तरण गरिसकेको जानकारी दिएका छन्।

यादवले विपद्को समयमा सहयोग गर्ने सम्पूर्ण राहतदाता तथा राहत संकलनमा खटिएका युवा साथीहरूप्रति आभार व्यक्त गरेका छन्। उनले संकटको समयमा नागरिकको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको बताउँदै मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

“राष्ट्रमा विपत्ति परेको बेला सबै मिलेर पीडितको साथमा उभिनुपर्छ,” यादवले भनेका छन्।

समाजसेवी तथा मनकारी युवा नेताका रूपमा परिचित यादव पछिल्लो समय आपत्–विपद्का बेला सामाजिक सेवामा सक्रिय हुँदै आएका छन्। बाढीपहिरो, विपद् तथा अन्य सामाजिक समस्यामा प्रत्यक्ष रूपमा सहभागी हुँदै सहयोग पुर्‍याउँदै आएका यादवको पहलले राहत अभियानमा युवाहरूको सहभागितासमेत बढाएको बताइएको छ।

राहत सामग्री हस्तान्तरण गर्दै यादवले यज राष्ट्र”को भावनासहित विपत्तिमा परेका नागरिकको सहयोगमा आफू निरन्तर सक्रिय रहने बताएका छन्।