सिरहा, २९ साउन। मधेश प्रदेशका सिरहा, सप्तरी, धनुषालगायत जिल्लामा बिहीबार अत्यधिक गर्मी महसुस गरिएको छ। बिहानै तापक्रम ३३ डिग्री सेल्सियस आसपास पुगेको र दिउँसो कतिपय स्थानमा ३५ डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि जनजीवन प्रभावित बनेको छ।
चर्को गर्मीका कारण विद्यालयमा समेत पठनपाठन प्रभावित भएको छ। पर्याप्त पङ्खा तथा विद्युत् व्यवस्थापन नहुँदा कक्षाकोठामा बसेर पढ्न समस्या भएपछि सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिएका छन्।
विद्यार्थीहरूले गर्मीका कारण कक्षाकोठामा बस्न तथा पढ्न कठिनाइ भइरहेको भन्दै विद्यालय प्रशासनसमक्ष लिखित निवेदनमार्फत समस्या समाधान गर्न माग गरे पनि सुनुवाइ नभएको गुनासो गरेका छन्।
विद्यार्थीहरूले कक्षाकोठामा तत्काल पर्याप्त पङ्खा जडान गर्नुपर्ने, विद्युत् आपूर्ति तथा व्यवस्थापन सुधार गर्नुपर्ने र अत्यधिक गर्मीका कारण प्रभावित पठनपाठनलाई सहज बनाउनुपर्ने माग राखेका छन्।
यसैबीच, विद्यार्थीलाई चर्को गर्मीबाट जोगाउन सिरहाका केही स्थानीय तहले विद्यालयमा आवश्यक पङ्खा जडान गर्नुका साथै पठनपाठनको समय परिवर्तन गरी बिहानको समयमा कक्षा सञ्चालन गर्ने तयारी गरेका छन्। बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गर्मीको अवस्था हेरेर विद्यालय सञ्चालनको समय व्यवस्थापन गर्नुपर्ने आवाजसमेत बढ्दै गएको छ।
तर, जिल्लाका कतिपय स्थानीय तहले अत्यधिक गर्मीको अवस्थालाई पर्याप्त गम्भीरताका साथ नलिएको भन्दै विद्यार्थी, अभिभावक तथा स्थानीयवासीले असन्तुष्टि जनाएका छन्। चर्को गर्मीमा पर्याप्त हावा, पङ्खा र विद्युत्को व्यवस्था नगरी कक्षामा विद्यार्थी राख्दा उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै तत्काल आवश्यक व्यवस्थापन गर्न माग गरिएको छ।
अत्यधिक गर्मीका कारण बालबालिकामा डिहाइड्रेसन, कमजोरी तथा गर्मीजन्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले विद्यालय सञ्चालनको समय, कक्षाकोठाको वातावरण र खानेपानीको व्यवस्थापनमा स्थानीय तह तथा विद्यालय प्रशासनले विशेष ध्यान दिनुपर्ने देखिएको छ।