सिरहा । सिरहाको औरही गाउँपालिका–४ इट्टाटारस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५७ किलो २०७ ग्राम प्रतिबन्धित गाँजा बरामद गरेको छ।

बुधबार राति करिब १ः३५ बजे नेपालबाट अवैध रूपमा टाउकोमा बोकेर भारततर्फ लैजाँदै गरिएको गाँजा सशस्त्र प्रहरीको गस्ती टोली देखेपछि तस्करहरूले छाडेर फरार भएका हुन्।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी इट्टाटारबाट सशस्त्र प्रहरी नायब निरीक्षक प्रेमकुमार राउतको कमाण्डमा खटिएको पाँच सदस्यीय मोटरसाइकल गस्ती टोलीले उक्त गाँजा नियन्त्रणमा लिएको हो।

गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिहरू गस्ती टोलीलाई देखेपछि गाँजा छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। फरार व्यक्तिहरूको खोजी भइरहेको छ।

बरामद गाँजा आवश्यक कानुनी प्रक्रियाका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।