सिरहा, बरियारपट्टी । राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को परिमार्जनका लागि शिक्षामन्त्री सुमित पोखरेल बरियारपट्टीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन्।

श्री जनता माध्यमिक विद्यालय प्राविधिक धार, बरियारपट्टीमा शनिबार, २०८३ भदौ २७ गते पाठ्यक्रम परिमार्जनसम्बन्धी अन्तरक्रिया तथा सुझाव–पृष्ठपोषण संकलन कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा शिक्षामन्त्री पोखरेललाई विद्यालय तथा स्थानीय सरोकारवालाले समान पत्र सहित स्वागत तथा अभिनन्दन गरेका छन्।

पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ लाई समयानुकूल परिमार्जन गर्ने सन्दर्भमा शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाबाट सुझाव र पृष्ठपोषण संकलन गरिएको जनाइएको छ।

कार्यक्रममा शिक्षामन्त्री पोखरेलको उपस्थितिले स्थानीय स्तरमा पाठ्यक्रम सुधारका विषयमा सरकारको चासो र प्राथमिकतालाई समेत उजागर गरेको छ। विद्यालय तथा स्थानीय सरोकारवालाहरूले व्यावहारिक, सीपमूलक, प्रविधिमैत्री तथा रोजगारसँग जोडिएको शिक्षालाई पाठ्यक्रममा थप प्रभावकारी रूपमा समेट्नुपर्ने आवश्यकता औँल्याएका छन्।

विशेषगरी प्राविधिक धारमा अध्ययनरत विद्यार्थीलाई आवश्यक पर्ने सीप, प्रयोगात्मक ज्ञान तथा स्थानीय आवश्यकता र सम्भावनासँग जोडिएको विषयवस्तुलाई पाठ्यक्रममा प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका क्रममा देशका विभिन्न क्षेत्रबाट प्राप्त सुझावलाई समेटेर विद्यार्थीको आवश्यकता, समयको माग र नेपालको सामाजिक–आर्थिक परिवेशअनुकूल पाठ्यक्रम निर्माण गर्ने उद्देश्य राखिएको बताइएको छ