२२ महिनापछि फरार अभियुक्त पक्राउ : प्रहरीमाथि गोली चलाएपछि जवाफी फायरिङमा घाइते
सिरहा, ३ असोज । ज्यान सम्बन्धी कसुर तथा संगठित अपराधसम्बन्धी मुद्दामा फरार रहेका एक मुख्य अभियुक्तलाई प्रहरीले २२ महिनापछि गोली प्रहार गरी पक्राउ गरेको छ।
सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले मोहम्मद कुरवान मंसुरीलाई गोली लागेका अवस्थामा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार २०८१ मंसिर १६ गते बिहान करिब ३ बजे भारततर्फ ठूलो मात्रामा मदिरा तस्करी भइरहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल, बिओपी बडहरीबाट खटिएको टोलीले DL 5 CJ 7171 नम्बरको टाटा सफारी रोकी जाँच गर्न खोजेको थियो। सो क्रममा गाडीका चालकले ड्युटीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवलाई ज्यान मार्ने उद्देश्यले गाडीले ठक्कर दिई किचेर मारेको प्रहरीको भनाइ छ।
उक्त घटनापछि फरार रहेका मुख्य अभियुक्तमध्येका टाटा सफारीका धनी तथा चालक भारत, बिहार राज्य, मधुवनी जिल्ला, ललबनियाँ थाना, घोडमोहना घर भई हाल सिरहाको नवराजपुर गाउँपालिका–५ बस्ने मोहम्मद मोकिन मंसुरीका करिब ३७ वर्षीय छोरा मोहम्मद कुरवान मंसुरीलाई प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो।
इलाका प्रहरी कार्यालय महेशपुरपतार, सिरहाबाट प्रहरी निरीक्षक विशाल मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा २०८३ असोज ३ गते साँझ करिब ५:१० बजे बरियारपट्टी–१ कचनारीस्थित नेपाल–भारत सीमा नजिक कुरवानसहित तीन जना व्यक्तिलाई फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिन खोज्दा उनीहरूमध्येबाट प्रहरी टोलीलाई लक्षित गरी एक राउण्ड गोली प्रहार गरिएको थियो। त्यसपछि प्रहरीले जवाफी कारबाहीस्वरूप तीन राउण्ड गोली चलाएको जनाएको छ।
जवाफी फायरिङका क्रममा मुख्य अभियुक्त मोहम्मद कुरवानको बायाँ हातको कुहिना र दाहिने खुट्टाको घुँडामा गोली लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको र उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरू तथा घटनासम्बन्धी थप विवरणबारे अनुसन्धान भइरहेको जनाएको छ। कुरवानमाथि ज्यान सम्बन्धी कसुर (ज्यान मार्ने उद्योग तथा सवारी ज्यान) र संगठित अपराधसम्बन्धी कसुर मुद्दामा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

