काठमाडौं । राहत तथा करार शिक्षक संघर्ष समितिले प्रोत्साहन भत्तासहित स्थायी शिक्षकसरह सेवासुविधा उपलब्ध गराउन शिक्षा, खेलकुद तथा प्रविधिमन्त्री सस्मित पोखरेलको ध्यानाकर्षण गराएको छ। सामुदायिक विद्यालयमा लामो समयदेखि योगदान दिँदै आएका राहत तथा करार शिक्षकलाई सरकारी घोषणा र पूर्वसहमतिअनुसारको प्रोत्साहन भत्ता तथा अन्य सुविधा तत्काल उपलब्ध गराउन समितिले माग गरेको हो। साथै, समान कामका लागि समान सुविधा, मर्यादित कार्य वातावरण, पूर्वसहमतिको पूर्ण कार्यान्वयन र शिक्षकका आर्थिक तथा मानसिक समस्याको समाधानका लागि मन्त्रालयबाट शीघ्र स्पष्ट निर्णय तथा सूचना जारी गर्न आग्रह गरेको छ। समितिले आन्दोलनभन्दा संवाद र सहकार्यलाई प्राथमिकता दिँदै समयमै माग सम्बोधन हुने विश्वास व्यक्त गरेको छ।