सिरहा। सिरहा जिल्लाको शैक्षिक इतिहासमा पहिलो पटक एक महिला सामुदायिक माध्यमिक विद्यालयको प्रधानाध्यापक बनेकी छन्। जिल्लाको पूर्वी भेगमा बलान नदीको किनारसँग जोडिएको लक्ष्मीनारायण कौशल्या माध्यमिक विद्यालय, नहरारिगौलको प्रधानाध्यापकमा श्रीमती कविता ठाकुर नियुक्त भएकी हुन्। उनको नियुक्तिलाई जिल्लाको सामुदायिक विद्यालय शिक्षामा महिला नेतृत्वको ऐतिहासिक उपलब्धिका रूपमा लिन सकिन्छ।

दरबार हाईस्कुलपछि स्थापना भएको दोस्रो विद्यालयका रूपमा परिचित श्री चन्द्र हाईस्कुल रहेको सिरहा जिल्लामा सामुदायिक माध्यमिक विद्यालयको नेतृत्वमा महिलाको प्रतिनिधित्व हुन नसक्नु आफैँमा विचारणीय विषय हो। यस्तो अवस्थामा कविता ठाकुरको नियुक्तिले महिला शैक्षिक नेतृत्वको सम्भावना र अवसरबारे नयाँ बहस सिर्जना गरेको छ।

शैक्षिक योग्यता र अनुभवका हिसाबले पनि कविता सक्षम देखिन्छिन्। उनले बीएड साइन्स र प्लानिङ विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी छन्। उनको जन्म काभ्रेपलाञ्चोकमा भएको हो। उनका बुबा व्यवसायको खोजीमा पहाड पुगेपछि त्यहीँ उनको जन्म भएको थियो। बुबाले सञ्चालन गरेको सैलुनबाट परिवारको जीविकोपार्जन हुन्थ्यो। उनको लालनपालन र शिक्षा पनि काभ्रेपलाञ्चोकमै भएको हो। त्यसैले उनको नेपाली भाषा र बोल्ने शैली पहाडी मूलका व्यक्तिको जस्तो सुनिन्छ। यद्यपि, उनको स्थायी घर सिरहाको कर्जन्हास्थित बडहरामाल हो।

सिरहामा चित्रलेखा यादव र सीतादेवी यादवजस्ता महिला नेतृहरू मन्त्री बनेपछि जिल्लामा महिला सशक्तीकरण र महिलावादी आन्दोलनको अवस्था बलियो रहेको अपेक्षा धेरैले गरेका थिए। तर, सामुदायिक माध्यमिक विद्यालयको नेतृत्वमा महिलाको प्रतिनिधित्वको अवस्था हेर्दा शैक्षिक क्षेत्रमा महिला नेतृत्व अझै पछाडि रहेको देखिन्छ।

यसअघि केही समयका लागि माडरस्थित विद्यालयमा सीमा गुप्ता प्रधानाध्यापक बनेकी भए पनि उनी निमित्त प्रधानाध्यापकका रूपमा मात्र कार्यरत रहेको बताइन्छ। त्यसैले कविता ठाकुरको नियुक्तिलाई जिल्लामा महिला नेतृत्वको संस्थागत उपस्थितिका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

यस घटनाले सिरहामा महिला शिक्षाको अवस्था, उच्च शिक्षामा छात्राहरूको सहभागिता र नेतृत्व तहमा उनीहरूको पहुँचबारे गम्भीर प्रश्न उठाएको छ। विशेषगरी जिल्लामा उल्लेख्य जनसङ्ख्या रहेको यादव समुदायमा छोरीको शिक्षालाई अझै समान प्राथमिकता दिन नसकिएको आलोचना हुँदै आएको छ।

सिरहाका कतिपय समुदायमा छोरालाई निजी विद्यालयमा र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने प्रवृत्ति अझै कायम रहेको आलोचकहरूको भनाइ छ। त्यस्तै, छोरीले विद्यालय तहको शिक्षा पूरा गरेपछि उच्च शिक्षा हासिल गर्न प्रोत्साहित गर्नुको सट्टा विवाहलाई प्राथमिकता दिने सामाजिक अभ्यासले पनि उनीहरूको शैक्षिक यात्रामा बाधा आइरहेको विज्ञहरूको निष्कर्ष रहेको छ।

कविता ठाकुरको नियुक्ति केवल एक व्यक्तिको व्यावसायिक उपलब्धि मात्र होइन, सिरहामा महिला नेतृत्वको सम्भावनालाई उजागर गर्ने अवसर पनि हो। यसले छोरीलाई समान शैक्षिक अवसर प्रदान गर्ने, उच्च शिक्षामा उनीहरूको सहभागिता बढाउने र विद्यालय तथा क्याम्पसको नेतृत्व तहमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई पुनः बहसको केन्द्रमा ल्याएको छ।