सिरहा , असोज १८ गते। सिरहा जिल्ला माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (HISTUN) को सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले दिपेन्द्र कुमार यादवको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।

श्री जनता माध्यमिक विद्यालय, चोहर्वामा आयोजित अधिवेशनको अध्यक्षता सुभेश्वर यादवले गर्नुभएको थियो। कार्यक्रममा HISTUN मधेस प्रदेशका अध्यक्ष मनिकलाल साह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका शिक्षक, शिक्षिका तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिसहित करिब १०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा इन्द्रदीप महतो, महिला उपाध्यक्षमा मञ्जु कुमारी, सचिवमा रामचन्द्र यादव, सहसचिवमा भरत साह तथा अर्थ–सहसचिवमा सरोज यादव चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा रामफल यादव, राजदेव पंजियार, शिवनाथ यादव, मनोज कुमार यादव, राजन गोइत, भरत मण्डल र नागेन्द्र प्रसाद यादव चयन भएका छन्।

कार्यक्रममा सहभागी विशिष्ट अतिथि तथा प्रमुख अतिथिहरूले शिक्षकहरूको पेशागत हकहित, संगठनको सुदृढीकरण, शैक्षिक गुणस्तर सुधार तथा शिक्षाको विकासका विषयमा मन्तव्य राखेका थिए। वक्ताहरूले शिक्षकहरूबीच एकता र सहकार्यलाई मजबुत बनाउँदै शिक्षा क्षेत्रका समस्या समाधानका लागि संगठित रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा शिक्षकहरूको पेशागत हकहितको संरक्षण, संगठन विस्तार तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

अधिवेशनमा सहभागी शिक्षक तथा अतिथिहरूले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै शिक्षक र शिक्षा क्षेत्रका सवाललाई प्रभावकारी रूपमा उठाउन आग्रह गरेका थिए।