भारतमा विद्यार्थी आन्दोलन र युवा असन्तुष्टिको आवाज बनेर उदाएकी वामपन्थी नेतृ नेहा बोरा पछिल्लो समय चर्चामा छिन्। बेरोजगारी, परीक्षामा प्रश्नपत्र चुहावट र निर्वाचन प्रक्रियामा कथित अनियमितताविरुद्ध भइरहेका प्रदर्शनमा सक्रिय भूमिका खेलेपछि उनी भारतीय राजनीतिमा नयाँ पुस्ताको चर्चित अनुहारका रूपमा देखिएकी हुन्।

सिरहा ।२९ वर्षीया बोरा जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा विद्यावारिधि गरिरहेकी शोधार्थी हुन्। उनी भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) लिबरेसनसँग सम्बद्ध विद्यार्थी संगठन अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) की राष्ट्रिय अध्यक्ष हुन्।

पछिल्ला दिनमा नयाँदिल्लीको जन्तरमन्तरमा भएका प्रदर्शनका क्रममा प्रहरीसँगको घम्साघम्सी र आन्दोलनप्रति देखाएको अडानका कारण बोरा सामाजिक सञ्जालमा चर्चित बनेकी छन्। उनका भाषण र प्रदर्शनका दृश्य भाइरल भएपछि समर्थकहरूले उनलाई ‘शेरनी’ अर्थात् सिंहिनीको उपनामसमेत दिएका छन्।