काठमाडौं- सांसद आरजु राणाले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिइसकेपछि ०८० भदौ १० गते सञ्चारकर्मीसँग कुरा गर्दै आफू किसानकी छोरी भएकाले कृषिका समस्याबारे जानकार रहेको बताएकी थिइन् । आरजुको यो भनाइलाई धेरै मानिसले ‘मजाक’का रुपमा लिए ।
त्यसबेला आरजुले सभापतिमा आफ्नो उम्मेदवारीबारे भनेकी थिइन्, ‘म कृषकको पनि छोरी हो । सानोदेखि कृषि क्षेत्रमा के–के भएन भन्ने याद छ, त्यसलाई रेस्पोन्स गर्न हो ।’
कृषि समितिको सभापति रहेकी राणा अहिले ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनेकी छन् । कृषि समितिमा रहँदा उनले बाँदरको समस्याबाट कृषकलाई मुक्ति दिनका लागि बाँदरको बन्ध्याकरण गर्न सकिने र यसका लागि भारतमा भएको प्राक्टिस अध्ययन गर्नुपर्ने बताएकी थिइन् ।
बाँदरको बन्ध्याकरण सम्बन्धी विषयमा अध्ययन गर्न संसदीय समितिको टोली भारत पठाउने चर्चा पनि भएको थियो, तथापि यो विषय टुंगोमा पुगेको छैन । अब मन्त्री बनेपछि राणाले संसदीय समितिबाट स्वतः हट्नुपर्ने हुन्छ । उता देशैभरिका किसानहरु बाँदरको बिझाइँबाट पीडित बनिरहेकै छन् ।
के परराष्ट्रमन्त्री आरजु राणा किसानकै छोरी हुन् त ? राणा परिवारकी सदस्य भएका नाताले धेरै मानिसहरुलाई लाग्न सक्छ, उनी काठमाडौंको संभ्रान्त परिवारकी सदस्य हुन् । तर, वास्तविकता त्यस्तो नभएर उनी बर्दियाकी किसान परिवारकी छोरी हुन् । आरजुको परिवार धनी किसान वर्गमा पर्छ ।











