सिरहाको बरियारपट्टीमा इन्द्र मेला धुमधाम संग मनाइदै
बरियारपट्टी । सिरहा जिल्लाको बरियारपट्टीमा हरेक वर्ष इन्द्र जात्राको अवसरमा विशेष मेला आयोजना गरिदै आइएको छ।
बिगत ४० बर्ष देखि निरन्तर लाग्दै आएको यो मेला यसपाली भाद्र २९ गते देखि सुरू भई भाद्र ३ गते सम्म चल्नेछ ।
यो मेला धार्मिक, सांस्कृतिक, र मनोरञ्जनात्मक गतिविधिहरूले भरिपूर्ण हुन्छ। यस मेलामा विशेषगरी हिन्दू धर्मावलम्बीहरू भगवान इन्द्रको पूजा गर्ने परम्परा अनुसरण गर्दै आइरहेका छन्। मेलामा स्थानीय झाँकी, नाचगान, पारम्परिक बाजागाजा, तथा विभिन्न किसिमका प्रदर्शनीहरू देख्न पाइने मेला समितिका सदस्य बिरेन्द्र यादवले हुलाकी टुडे संग कुरा गर्दै बताए ।

त्यसैगरी श्री ज.मा. बि.(प्रबिधि धार) बरियारपट्टीका प्र.अ. बिरबल यादवका अनुसार इन्द्र जात्राले सांस्कृतिक र पुरातात्विक सम्पदालाई उजागर गर्छ। यसको विशेष गरिमा भनेको यो पर्वले मानव सिर्जित सम्पदा र भौतिक सम्पदासँग जोडिएको अमूर्त सम्पदाको मिश्रणलाई प्रदर्शन गर्नु हो । खासगरी यो जात्रा काठमाडौं उपत्यकामा धुमधामका साथ मनाउदै आएकोमा यसले समुदायलाई एकै ठाउँमा ल्याई सामाजिक सद्धभाव र सांस्कृतिक सम्पदा जगेर्ना गर्ने काम गर्दै आएकोले उपत्यका बाहिर पनि धुमधामका साथ मनाइन्छ। यस यात्राको हाम्रो समाजमा छुट्टै महत्व रहेको यादवले बताए।
त्यसैगरी बरियापट्टी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष बिनोद कुमार यादवका अनुसार यस पर्वको मौलिकता र परम्परागत रूपलाई जगेर्ना गर्न विशेष पहल गरिनु यसको दीर्घकालीन महत्त्वको प्रतीक हो। यसको सांस्कृतिक धरोहरलाई जोगाउन स्थानीय निकायहरूका विभिन्न प्रयासहरू पनि सान्दर्भिक छन् । हामी सबै मिलेर हाम्रो मौलिकतालाई कायम राख्नु पर्छ भन्ने कुरामा जोड दिइयो ।

मेलामा स्थानीय उत्पादनहरू, हस्तकलाहरू, र मिठाईका परिकारहरूको बिक्री पनि हुने गर्दछ।
यस मेलामा सिरहा जिल्ला सहित छिमेकी जिल्लाहरू सप्तरी, धनुषा र मित्र राष्ट्र भारत बिहार राज्यका हजारौंको सङ्ख्यामा भक्तजनहरूको सहभागी रहदै आएका छन् ।

