महोत्तरीमा टेन्ट हाउसमा भीषण आगलागी
जनकपुर:महोत्तरीको जलेश्वर नगरपालिका–२ मदरसा टोलमा आज दिउँसो करिव १२ बजेतिर एक टेन्ट हाउसमा भीषण आगलागी भएको छ। विपति साहको घरमा सटर भाडामा लिएर सञ्चालनमा रहेको खुस्बु टेन्ट हाउसको स्टोरमा आगलागी भएको हो।
महोत्तरी प्रहरीले दिएको जानकारी अनुसार, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय समुदायको अथक प्रयासले आगलागी नियन्त्रणमा ल्याइएको छ। आगलागीको कारण भने यकिन गर्न सकिएको छैन। टेन्ट हाउसका सञ्चालक अरविन्द साहका अनुसार, टेन्टमा रहेका पाँच थान ग्यास सिलिन्डरमध्ये दुई सिलिन्डर पड्किएपछि आगलागीले उग्र रूप लिएको बताइएको छ।
आगलागीको घटनाबारे जानकारी पाएलगत्तै जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने र जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेल तथा डिएसपी सन्तुलालप्रसाद जयसवार घटनास्थलमा उपस्थित भएका थिए। क्षतिको विवरण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

