यति ठुलो विपदको पूर्वतयारी नभएको प्रधानमन्त्रीको स्वीकारोक्ति
काठमाडौ :प्रधानमन्त्री केपी शर्मा ओलीले यति ठूलो विपदको पूर्वतयारी नरहेको स्वीकार गरेका छन् । असोज ११ र १२ गते भारी वर्षासँगै आएको बाढी पहिरोले गरेको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले ठूलो विपत्ति आइलागेको बताए । ‘हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन’, उनले भने, ‘यस प्रकारको वर्षा होला, पहिरो जाला, मानवीय तथा भौतिक क्षति होला भन्ने अनुमान थिएन ।’
भारी वर्षा हुनसक्छ भन्ने जल तथा मौसम विज्ञान विभागको सूचनाका आधारमा अरु बेलाजस्तै पूर्व तयारी गरेको उनले बताए । उनले भने, ‘पहिला यस प्रकारभन्दा कमै हुने गर्थे, त्यसैअनुसार पूर्व तयारी थियो । ठूलै विपत्ति आइलाग्यो ।’

