सुखिपुर उद्योग वाणिज्य व्यापार समितिको अध्यक्ष पदको लागि को-को हुन सम्भावित उमेदवार
बरियारपट्टी:उद्योग वाणिज्य व्यापार समिति सुखिपुरमा अध्यक्ष पदका लागि दुई जनाको उमेदवारी दिने सम्भावना रहेको विषयलाई लिएर अहिले स्थानीय स्तरमा चासो बढेको छ। मर्निङ वाक देखि चिया पसल सम्म नेतृत्व चयनको चर्चा परिचर्चा चलिरहेका छन् । सुखिपुर उद्योग वाणिज्य व्यापार समिति लामो समयदेखि व्यापारिक समुदायको हकहितको संरक्षण गर्दै आएको संस्था हो। यसको नेतृत्व परिवर्तनको चर्चा हुँदा व्यापारिक क्षेत्रमा नयाँ विचारधारा, नीति तथा योजनाका सम्भावनाहरु थप जीवित भएका छन्।
अध्यक्ष पदका लागि हालसम्म दुई जना सम्भावित उमेदवारहरुको नाम बाहिर आएको छ। तीमध्ये पहिलो उम्मेदवार हुन् संस्थापक पक्ष वाट हालका प्रथम उपाध्यक्ष सुर्य नारायण यादव(सुरज), जो लामो समयदेखि उद्योग वाणिज्य क्षेत्रमा सक्रिय छन्। उनी विगतमा पनि विभिन्न पदहरुमा रही, व्यापारिक हक अधिकारका लागि संघर्ष गर्दै आएका छन्। उनको उम्मेदवारीलाई व्यवसायिक समुदायको एक हिस्साले सकारात्मक दृष्टिकोणले हेरिरहेको छ। यादवको अनुभव, कार्यदक्षता र व्यापारिक क्षेत्रमा पुर्याएको योगदानले उनी प्रमुख उम्मेदवारको रुपमा अघि सरेका छन्।
दोस्रो सम्भावित उम्मेदवार हुन् युवा व्यवसायी बिजय प्रसाद गुप्ता । गुप्ता सुखिपुरकै एक सफल उद्यमी तथा समाजसेवीको रुपमा परिचित छन् र उनी नयाँ पुस्ताको प्रतिनिधित्व गर्छन्। व्यापारिक क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, व्यवसायीहरुको क्षमता विकास तथा आर्थिक समृद्धिका लागि नयाँ नीतिहरु ल्याउने पक्षमा गुप्ताको धारणा रहेको छ। गुप्ताले व्यवसायीहरुको समस्याहरुलाई नयाँ दृष्टिकोणले समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। विशेष गरी युवा व्यवसायी र हालको
नेतृत्व प्रति रुष्ट(चित्त नबुझ्नेका) परिवर्तन चाहने व्यापारी हरू गुप्ताको समर्थनमा उभिएका छन्।
समिति अध्यक्ष पदका लागि हुने यस पटकको चुनावमा अनुभवी र युवाबीचको प्रतिस्पर्धा हुने देखिएको छ। सुर्य नारायण यादव(सुरज)ले आफ्नो अनुभवको आधारमा समर्थन जुटाउन सक्ने अपेक्षा गरिएको छ भने बिजय गुप्ताले युवापुस्ताको जोश, नयाँ विचार र परिवर्तनको नारा लिएर अघि बढ्नेछन्।
व्यापारिक समुदायको ठूलो हिस्सा अध्यक्ष पदका लागि हुने यस प्रतिस्पर्धालाई चासोका साथ हेरिरहेको छ। सुखिपुरको उद्योग वाणिज्य समिति लामो समयदेखि स्थानीय व्यापारिक क्षेत्रको मुद्धा सम्बोधन गर्दै आएको संस्थाका रुपमा रहेकोले यसको नेतृत्व परिवर्तनले समग्र व्यापारिक क्षेत्रमै प्रभाव पार्न सक्छ। जसले गर्दा उम्मेदवारहरुसँग व्यापारी समुदायले अपेक्षा गरेका नीतिहरु र कार्यक्रमहरुसमेत महत्वपूर्ण हुने देखिन्छ।
यस पटकको चुनावमा दुवै उम्मेदवारले आ–आफ्नो पक्षमा मतदाता र सदस्यहरुलाई आकर्षित गर्न विशेष रणनीति अपनाउने अपेक्षा गरिएको छ। यादवको समर्थनमा लामो अनुभव र सञ्जाल बलियो भएकोले उनी परिपक्व उम्मेदवारको रुपमा प्रस्तुत हुनेछन्। त्यस्तै, गुप्ताले भने नवीन सोच ,परिवर्तनको चाहना र युवाको प्रतिनिधित्व गर्दै व्यवसायिक सुधारको खाका अघि सार्नेछन्।
सुखिपुर उद्योग वाणिज्य व्यापार समितिको नयाँ नेतृत्व चयनको लिगि चुनावी प्रक्रिया सुरु भैसकेको छ।निर्वाचन आयोगले मतदता नमावली प्रकाश गरिसकेका छन भने आयोगले कार्तिक ५ गते मनोनयन दर्ता र कार्तिक ९ गते निर्वाचनको लागि कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।
समग्रमा, सुखिपुरको उद्योग वाणिज्य व्यापार समितिको अध्यक्ष पदका लागि हुने चुनावले व्यापारिक क्षेत्रमा नयाँ दिशा र नेतृत्व ल्याउने अपेक्षा गरिएको छ। युवा जोश र अनुभवबीचको यो प्रतिस्पर्धाले व्यापारिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ, र आगामी दिनमा सुखिपुरका व्यापारीहरुको हितमा नयाँ कार्यक्रमहरु अगाडि ल्याउने योजना दुवै उम्मेदवारले अ-आफ्नो घोषणापत्रमा समेटिन सक्ने आम व्यापारीहरू को अपेक्षा रहेका छन् ।

