सिरहा,बरियारपट्टी। लुटपाट तथा संगठित अपराध मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसेन रहेका छन् ।

उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले घाइते अवस्थामा पक्राउ गरेको जनाएको छ ।

सिरहा नगरपालिका वडा नम्बर १७ माडरस्थित नेपाल भारतको दसगजा क्षेत्र नजिक हात खुट्टा लगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थाबाट उनलाई नियन्त्रणमा लिएको डिएसपी बिरेन्द्र कुमार पासवानले बताए ।

पक्राउ परेका आरिफलाई प्रादेशिक अस्पतालमा सिरहामा उपचारपछि जिल्ला प्रहरी कार्यालय सिरहामा सोधपुछपश्चात आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मिर्चैया पठाइएको डिएसपी पासवानले जानकारी दिए ।

कुख्यात डाँका आरिफ माथि  भारत विहारको मधुवनी जिल्लामा हातहतियार, लुटपाट लगायत मुद्दा दर्ता रहेको तथा उनलाई पक्राउ गर्नेलाई २५ हजार रुपैँया पुरस्कार घोषणा गरेको समेत रहेको प्रहरीले जानकारी दिएको छ ।