सिरहाको विष्णुपुर गाउँपालिकाको सरकारी गाडी उपाध्यक्ष द्वारा तोडफोड
बरियारपट्टी।सिरहाको विष्णुपुर गाउँपालिकाको सरकारी गाडी उपाध्यक्षले तोडफोड गरेकी छन् । उपाध्यक्ष गीताकुमारी सिंहले आफूलाई चढ्न नदिएको भन्दै गाडी तोडफोड गरेकी हुन् । उपाध्यक्ष सिंहले बा २ झ ३६४३ नम्बरको सरकारी स्कर्पियोमा इँट्टा र ढुंगा प्रहार गर्दा झ्याल, ढोकाको सिसा सहित विभिन्न भागमा क्षति पुगेको छ ।
आइतबार बिहान १० बजे आफूलाई घरमा लिन आउन गाडी चालकलाई भने पनि नमानेपछि गाडी तोडफोड गर्नुपरेको उपाध्यक्ष सिंहले स्वीकारेकी छन् । उपाध्यक्ष सिंहले टुडे संग भनिन् बिहान १० बजे घरबाट मलाई लिन आउन गाडी चालकलाई फोन गरेँ । तर लिन नआएपछि म मोटरसाइकलमै कार्यालय आउँदा अध्यक्षकै घर अगाडि गाडी रोकिएर राखेको देखेपछि रिस उठेर गाडी माथि प्रहार गरेकी हुँ उनले भनिन् ।
विष्णुपुर गाउँपालिकामा एक आफ्नै र एक भाडाका गरी दुई स्कर्पियो छन् । जसमध्ये गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि गाडी किनिएको छ भने भाडाको गाडी प्रमुख प्रशासकीय अधिकृत चढ्छन् । उपाध्यक्ष सिंहले पालिकाको दुवै गाडी अध्यक्ष सत्यनारायण यादवले कब्जा गरेर राखेको आरोप लगाएकी छन् । अधिकांश गाउँपालिका अध्यक्षहरू जनतामुखि नभई ,आफ्नै भोग विलासमा रमाई रहेको स्थानीयहरूको आरोप रहेको छ।

