लाहान।सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकु कुमारी सदायको जबरजस्ती करणी तथा हत्या प्रकरणले समग्र समाजलाई स्तब्ध बनाएको छ । घटनापछि पीडित परिवार न्यायका लागि संघर्षरत रहेको बेला नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् मधेस प्रदेश इन्चार्ज मातृका प्रसाद यादव, जिल्ला इन्चार्ज अजय शंकर नायक (अभिनाष) ,युवा नेता जिवछ यादव ,रामेश्वर यादव,बिनोद कुमार यादव सहित पार्टीका नेता तथा कार्यकर्ताहरू पिडित  परिवारलाई भेट्न पुगेका छन् ।

शुक्रबार यादव मृतक रिंकुको घर पुगी उनका बुवा बिजूल सदाय र आमासँग भेट गरी घटनाको कानूनी लडाइँमा पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता जनाएका छन् । उनले यो घटना समाजमा विद्यमान सामन्ती सोच र उत्पीडित वर्गमाथि भइरहेका अत्याचारको निरन्तरता भएको बताउँदै भने,–“रिंकु कुमारी सदायको कानूनी लडाइँ हाम्रो पनि लडाइँ हो।” दलित तथा सम्पूर्ण उत्पीडित समुदायको सामाजिक, आर्थिक र राजनीतिक सबलीकरण नै यस्ता घटनाविरुद्ध लड्ने सबैभन्दा प्रभावकारी उपाय भएको बताए ।

उनले यस प्रकरणलाई अन्यायको सामान्यीकरण गर्ने प्रयासहरूसँग सचेत रहनुपर्ने बताउँदै दोषीहरूलाई कडा कानूनी कारबाहीको दायरामा ल्याउन सरोकारवाला निकायहरूलाई तत्काल पहल गर्न आग्रह गरे ।

क्रान्तिकारी नेताका रूपमा परिचित पुर्वमन्त्री यादवले यो घटना सम्पूर्ण उत्पीडित वर्ग र न्यायप्रेमी समाजका लागि चुनौती भएको उल्लेख गर्दै न्याय नपाएसम्म संघर्ष जारी रहने स्पष्ट पारे ।