सिरहामा बेपत्ता १३ वर्षीया खातुनको शव बोरामा बेरिएर झाडीमा गाडिएको अवस्थामा भेटियो
सिरहा। सिरहाको गोलबजार नगरपालिका ९ की १३ वर्षीया गुलशना खातुनको शव गाडिएको अबस्थामा शव फेला परेको छ ।
गत फागुन २९ गते घरबाट निस्केकी बालिका खातुन बेपत्ता भएकी थिइन् । उनको शव बोरामा बेरेर गाडिएको अवस्थामा ईलाका प्रहरी कार्यालय मिर्चैयाका टोलीले फेला पारेको छ । शव कुहिसकेको छ ।
‘वनमारा झाडीभित्रबाट लास कुहिएको गन्ध आएपछि गाउँमा आशंका जाग्यो,’ गोलबजार ९ का पूर्व वडाध्यक्ष रामपुकार कामतीले भने, ‘हामीले प्रहरीलाई खबर गर्यौं । प्रहरीको टोली आएर शंका लागेको ठाउँमा उत्खनन गर्दा बालिका खातुनको शव भेटियो । शव बोरामा बेरिएर खाडलभित्र पुरिएको थियो ।’
खालडभित्र फेला परेको शव खातुनकै रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तबहादुर बाखुले जानकारी पुष्टि गरेका छन् । उनका अनुसार घुर्मी खोला किनारमा तीन फिट खनेपछि जुटको बोरामा बेरिएको अबस्थामा बालिकाको शब फेला परेको छ ।
उनले बालिकाको हत्या गरी गाडिएको स्पष्ट भइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १ गते नै खोजतलास गरी दिन भनेर निवेदन दिइन् । खातुन स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् ।

