जसपा नेपालकाे सिरहा जिल्ला अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः अशाेक यादव चयन
सिरहा- जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिरहा जिल्ला कार्यसमितिको नेतृत्वमा पुनः अशोक कुमार यादव चयन भएका छन्। बुधवार रातिसम्म सहमतिका लागि प्रयास भए पनि निष्कर्षमा पुग्न नसकेपछि बिहीवार बिहानबाट मतदान प्रक्रिया सुरु गर्ने तयारी गरिएको थियो। तर अन्तिम समयमा शीर्ष नेताहरूको विशेष पहलमा सहमति जुट्न सफल भएसँगै निर्वाचन प्रक्रिया रोकी अशोक यादवलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरिएको हो।
अध्यक्ष यादवको नेतृत्वमा ५७ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा गठन गरिएको छ। जसमा उपाध्यक्षमा बरियारपट्टीका लालबहादुर साह र कल्याणपुरका अशोककुमार मण्डल चयन भएका छन्। सचिवमा गोलबजारका बिन्द कुमार मण्डल, उपसचिवमा लहानका दिनेश कुमार महतो र भगवानपुरका इन्दलकुमार मण्डल रहेका छन्। यस्तै, कोषाध्यक्षमा कर्जन्हाकी लक्ष्मीकुमारी श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएकी छन्।सर्वसम्मति बन्नु कार्यकर्ताको एकताको प्रतीक भएको बताउँदै धेरैले खुसी व्यक्त गरेका छन्।

