शिक्षक र प्रहरीबीच झडप: एक दर्जनभन्दा बढी शिक्षक घाइते,केहीको चिन्ताजनक अवस्था
काठमाडौं।आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ । बिजुलीबजार-नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपपछि एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् ।
शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा तनाव बढेको हो । आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो । अहिले बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण छ । प्रहरीले शिक्षकहरुमाथि पानीको फोहोरा हानेर भिड तितरवितर पारेको छ ।
प्रत्यक्षदर्शी शिक्षकहरुले प्रदर्शनमा घुसपैठ भएको दाबी गरेका छन् । ‘हामी आफ्नो माग राखेर आन्दोलन गरिरहेका थियौं । आन्दोलनमा घुसपैठ भएको हो । एउटा समूहले घेरा तोड्न खोजेपछि झडप भएको हो । पानीको फोहोरा प्रहार भयो ।’ झडपपछि एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् ।
शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले गत चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेका छन् । उनीहरुले चैत्र २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका थिए । यसबीचमा शिक्षक र सरकारका प्रतिनिधिबीच सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको छैन ।

