मन्त्रिपरिषद्ले ९ बुँदे सहमति स्वीकृत गर्यो, शिक्षक आन्दोलन स्थगित
काठमाडौं । मन्त्रिपरिषद्ले शिक्षक महासंघसँग भएको ९ बुँदे सहमति स्वीकृत गरेको छ ।
शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघले संयुक्त पत्रकार सम्मेलन गरी सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको जानकारी दिएका छन् ।
सहमतिसँगै ३० दिनपछि शिक्षकको काठमाडौं केन्द्रित आन्दोलन पनि स्थगित भएको छ ।
वार्तापछि पत्रकार सम्मेलनमा शिक्षकहरुको माग पूरा गर्दा सरकारलाई ८ अर्ब रुपैयाँ थप दायित्व पर्ने उनले जानकारी दिए ।
सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार जानकारी लिने गरेको, निर्देशन दिने गरेको भन्दै शिक्षामन्त्री पन्तले धन्यवाद दिए ।
यी हुन् ९ बुँदे सहमति
१) शिक्षकहरूको स्वास्थ् उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।
२) अस्थायी प्रकृतिका शिक्षक – राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने ।
३) प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने ।
४) आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने ।
५) स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।
६) सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।
७) नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।
८) नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।
९) निम्न माध्यमिक तह प्रथम श्रेणी का शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने ।

