सिरहा / बरियारपट्टी गाउँपालिकाकाे ऐतिहासिक कदम पोखरीको बाउन्ड्री तथा छठ घाटको शिलान्यास गरिएकाे छ ।

बरियारपट्टी गाउँपालिका वडा नं. ४ सोहपुरमा अवस्थित ऐतिहासिक कदम पोखरीको उत्तर साइडमा बाउन्ड्री तथा छठ घाट निर्माण कार्य शुरुवात गरिएको छ।

आज शुक्रवार एक कार्यक्रमका बिच बरियारपट्टी गाउँपालिकाकी उपाध्यक्ष ममता यादवले उक्त योजनाको शिलान्यास गरेकी हुन् ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष यादव प्रमुख अतिथि रहनु भएको थियो।

शिलान्यास समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बृद्धबृद्धा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। उपाध्यक्षले पोखरी  क्षेत्रको संरक्षण र सौन्दर्य वृद्धिका लागि घाट निर्माण अत्यन्तै आवश्यक रहेको बताउँदै यस योजनाले स्थानीयको धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।

वडाध्यक्ष नविन कुमार यादवले स्थानीय जनसहभागिता र सहयोगमा योजना सफलतापूर्वक सम्पन्न हुनेमा आश्वस्त पार्नुभयो।

उक्त निर्माण कार्य  उद्योग वाणिज्य तथा पर्यटन   मन्त्रालय, जनकपुरधामको आर्थिक सहयोगमा सञ्चालन हुने जनाइएको छ ।

बाउन्ड्री वाल र छठ घाट निर्माणका लागि कुल लागत ५० लाख रुपैयाँ रहने उपभोक्ता समिति अध्यक्ष रामकुमार यादवले जानकारी दिएका छन् ।

स्थानीयवासीहरूले निर्माण कार्य सम्पन्न भएपछि छठ पर्व लगायत अन्य धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू व्यवस्थित रूपमा गर्न सहज हुने विश्वास व्यक्त गरेका छन्।