लहान नगरपालिकामा एक वर्षमै इन्धनमा ५ करोड स्वाहा
सिरहा,१५ जेष्ठ । सिरहाको लहान नगरपालिकाले एकवर्षमै इन्धनमा पाँच करोड भन्दा बढी खर्च गरेको खुलेको छ । आर्थिक वर्ष २०७९÷०८० मा पूजीँगत तर्फ इन्धन शीर्षकमा ५ करोड ५ लाख २४ हजार रुपैयाँ विनियोजन गरी खर्च गरेको तथ्य फेला परेको हो ।
नगरपालिकाले पदाधिकारी, कार्यालय प्रयोजन, सरसफाइ, फुटकर योजना लगायतका लागि छुट्टाछुट्टै इन्धन शीर्षक तोकेर उक्त रकम विनियोजन गरेको थियो । सो आर्थिक वर्षमा पालिकाले पदाधिकारीको लागि इन्धनमा १ करोड ५८ लाख, कार्यालय प्रयोजनको लागि इन्धनमा ५० लाख, सरसफाईको लागि इन्धनमा १ करोड, फुटकर योजना इन्धनमा ९७ लाख २४ हजारसहित गरी ५ करोड ५ लाख २५ हजार थियो ।
यसरी विनियोजन गरिएको रकम इन्धनमा जथाभावी खर्च गरिए छ । मेयर महेश प्रसाद चौधरी र उपमेयर रामचलितर महतोको मौखिक आदेश वा तोकादेश मार्फत कानुनविपरीत खर्च गरिएको तत्कालीन कर्मचारी स्रोतको दावी छ ।
सो आवमा कानुन विपरीत पदाधिकारी तथा कर्मचारीलाई इन्धन वितरण गरिएको छ । ०७९ साल जेठ १९ गते मेयर चौधरीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकबाट कार्यपालिका सदस्यहरूलाई यातायात सुविधा स्वरूप मोटरसाइकल, स्कुटर र मासिक ३० लिटर इन्धन दिने निर्णय गरिएको थियो । सो निर्णयको आधारमा कानुन विपरीत जनप्रतिनिधिलाई मनपरी इन्धन वितरण गरेर व्यापक रूपमा अनियमितता भएको छ ।

