बरियारपट्टी (सिरहा), असार १६-बरियारपट्टी गाउँपालिका वार्ड नं. ३ बरियारपट्टी गाउँमा रहेको ट्रान्सफरमर विगत ४ दिनदेखि बिग्रिएर अवरुद्ध हुँदा स्थानीय सर्वसाधारणहरू भीषण गर्मीको मारमा परेका छन्। तापक्रम ४० डिग्री हाराहारी पुगेको यो समयमा विद्युत आपूर्ति ठप्प हुँदा बालबालिका, वृद्धवृद्धा, विद्यार्थी र सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ।

स्थानीयवासीहरूको अनुसार, पटक–पटक गुनासो गर्दा पनि न त गाउँपालिका कार्यालयले चासो देखाएको छ, न त लाहानस्थित नेपाल विद्युत प्राधिकरणले मर्मतको कुनै पहल गरेको छ। “४ दिनदेखि गर्मीमा पसिना–पसिना भएका छौं, पंखा, फ्रीज, पानी तातो, मोबाइल चार्ज सबै ठप्प छ। तर जिम्मेवार निकायहरू सुतेका छन्,” एक स्थानीयवासीले गुनासो गरे।

बिहान–साँझको समयमा झनै बढी समस्या देखिएको छ। विद्युत अभावका कारण रातिभरि सुत्न सकिदैन ,बृद्ध तथा बालबालिकाहरू बिरामी परिरहेका छन । गर्मीमा पानीको मोटर चल्न नसक्दा खानेपानीको अभाव समेत भइरहेको छ। विद्यार्थीहरू पढाइमा ध्यान दिन सकिरहेका छैनन् भने साना बालबालिका असहज स्थितिमा छन्।

यता नेपाल विद्युत प्राधिकरण, लाहान शाखाका एक कर्मचारीले ‘प्राविधिक समस्या र उपकरण अभावका कारण ढिलाइ भएको’ तत्कालै हामी ट्रान्सर्फमर परिवर्तन गर्नेमा छाै भने प्रतिक्रिया दिए पनि स्थानीयहरू उक्त स्पष्टीकरणप्रति सन्तुष्ट छैनन्।

स्थानीय समाजसेवीहरू र युवाहरूले तत्काल ट्रान्सफरमर मर्मत गरी विद्युत सेवा पुन: सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। यदि समयमै समाधान नभए विरोधका कार्यक्रम गरिने चेतावनी समेत दिइएको छ।