सिरहा:जनता मा.वि.देउरीपट्टीका शिक्षक उमेश प्रसाद साह ‘एक पालिका एक उत्कृष्ट शिक्षक’ मा छनोट
सिरहा, बरियारपट्टी — बरियारपट्टी गाउँपालिका वडा नं. ३ स्थित जनता माध्यमिक विद्यालय देउरीपट्टी शिवनगरका गणित शिक्षक उमेश प्रसाद साह मधेश प्रदेशका सरकारले सञ्चालन गरेको ‘एक पालिका एक उत्कृष्ट शिक्षक’ कार्यक्रममा बरियारपट्टी गाउँपालिकाबाट उत्कृष्ट शिक्षकका रूपमा छनोट भएका छन्।
शिक्षण पेसामा ३० वर्षभन्दा बढीको अनुभव भएका साहले शैक्षिक गुणस्तर उन्नयन, विद्यार्थीमैत्री वातावरण सिर्जना र प्रविधिमैत्री शिक्षण विधिको प्रयोगमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।
प्रदेश सरकारद्वारा हरेक स्थानीय तहबाट एकजना उत्कृष्ट शिक्षक छनोट गरी सम्मान गर्ने कार्यक्रम अन्तर्गत साहको नाम बरियारपट्टीबाट सिफारिस भएको हो। साहलाई एक कार्यक्रम बिच मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले सम्मान पत्र सहित दोसल्ला लगाई सम्मान गरेका थिए। यस सम्मानले गाउँपालिका र विद्यालय दुवैको प्रतिष्ठा बढेको विद्यालयका ब्यवस्थापनले जनाएको हो।
शिक्षक उमेश प्रसाद साहले यस अवसरमा आफ्नो अनुभूति व्यक्त गर्दै हुलाकी टुडे संग कुरा गर्दै भने, “यो सम्मान व्यक्तिगत मात्र नभई सम्पूर्ण विद्यालय परिवारको मेहनतको परिणाम हो। यसले आगामी दिनमा झनै मेहनत र समर्पणका साथ कार्य गर्न हौसला मिलेको छ।”
साहको छनोटप्रति विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूले खुसी व्यक्त गर्दै बधाई दिएका छन्।

