तराईमा पानीको अभावले किसान चरम संकटमा, तीनै तहका सरकार बेखबर
सिरहा, ९ साउन — मुलुकको अन्न भण्डार मानिने तराईका जिल्लाहरूमा पानीको अभाव गहिरिंदै जाँदा किसानहरू चरम संकटमा परेका छन्। वर्षा नहुँदा खेत सुकेका छन् भने सिँचाइको कुनै विकल्प नहुँदा रोपाइँ नै ठप्प भएको छ। सरकारले समयमा मल, बिउ, सिँचाइ र राहतका उपाय नगरेपछि किसानहरूको पीडा झन् बढ्दो छ।
सिरहा, सप्तरी, धनुषा, महोत्तरी लगायतका जिल्लाहरूमा असार र साउन महिनामा पर्याप्त पानी नपरेपछि अधिकांश धान रोपाइँ हुन सकेको छैन। यत्रो समस्या हुँदा पनि स्थानीय, प्रदेश र संघीय सरकार तीनै तह मौन बसेकोमा किसान आक्रोशित छन्।
“हामी खेतमा पसिना बगाउने किसान हौं, पानी नभएपछि रोपाइँ गर्न सक्दैनौं,” सिरहाको बरियारपट्टी–३ का किसान महेन्द्र यादव भन्छन्, “ सरकार मुखले कृषि संकटकालिन घोषण गरेपनि ब्यवहारमा देखाउन सकेका छैन। हाल सम्म सरकारका कुनै तहबाट बैकल्पिक सिँचाइको व्यवस्था, राहत वा समाधानको पहल भएको छैन।”
सिचाइ मन्त्री प्रदिप यादवले भाषाणमा ठुल ठुला उद्घोष गरेपनि सिचाइ तथा खानेपानी मन्त्रालयले कुनै वैकल्पिक योजना हालसम्म ल्याएका छैनन्। न त पानीको संरक्षणको दीर्घकालीन योजना बनाइएको छ।मानिसहरू खानेपानीको लागि छट्पटाई रहेका छन। सरकारका यस्ता रबैया हेर्दा किसानहरूको भरोसा सरकारप्रति गुमाउँदै गएको देखिन्छ।
कृषि विज्ञहरूका अनुसार, यो अवस्था लामो समय रहन गयो भने खाद्यान्न उत्पादनमा तीव्र गिरावट आउन सक्छ र खाद्य सुरक्षामै असरको साथै खानेपानीको चरम अभाव हुनसक्छ ।

