बरियारपट्टी पालिकामा सह-लेखापाल ठाकुरको लापरबाहीले पालिका अस्तव्यस्त ,जिम्मेवारी बाट हटाउन पालिकाले गरे पत्राचार
सिरहा, बरियारपट्टी — सिरहाको बरियारपट्टी गाउँपालिकामा कार्यरत अतिरिक्त जिम्मेवारी दिइएका सह-लेखापाल विजय ठाकुर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहँदा सेवाग्राहीहरू प्रत्यक्ष मारमा परेका छन्। उनको निरन्तर अनुपस्थितिका कारण पालिकाको दैनिक कामकाज प्रभावित हुनुका साथै समाजिक सुरक्षा भत्ता देखि कतिपय विकास योजनाहरू अलपत्र परेको स्थानीयको भनाइ रहेको छ।
गाउँपालिकाका जनप्रतिनिधिहरूका अनुसार, ठाकुरको यस्तो कार्यशैली विगत पाँच वर्षदेखि दोहोरिँदै आएको छ। समस्या समाधानका लागि गाउँ कार्यपालिकाबाट पटक–पटक निर्णय गर्दै कोष तथा नियन्त्रक कार्यालय, सिरहामा पत्राचार गरिए पनि हालसम्म कुनै ठोस पहल नभएको गुनासो उनीहरूले गरेका छन्।
पालिकाले हालै सह-लेखापाल ठाकुरलाई जिम्मेवारीबाट हटाई दरबन्दी अनुसार स्थायी लेखापाल उपलब्ध गराइदिन माग गर्दै पुनः पत्राचार गरेको जनाएको छ। तर, सम्बन्धित निकायले आवश्यक कदम नचालेको भन्दै कोष तथा नियन्त्रक कार्यालय ,सिरहाको कार्यशैलीप्रति शंका उत्पन्न भएको जनप्रतिनिधिहरूको भनाइ छ।
सम्बन्धित निकायले समयमै ध्यान नदिए सेवाप्रवाह थप प्रभावित हुने र विकास निर्माणका कामहरू झन् जटिल बन्न सक्ने स्थानीयहरूको चिन्ता रहेको छ।

