सिरहा/बरियारपट्टी — सिरहाको सीमावर्ती क्षेत्र बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयविरुद्ध स्थानीयवासी तथा व्यापारीहरूले चरणबद्ध आन्दोलन सुरु गरेका छन्। आन्दोलनका कारण हुलाकी राजमार्ग अवरुद्ध हुँदा पूर्व–पश्चिम सवारी आवागमन प्रभावित बनेको छ भने स्थानीय बजार क्षेत्रसमेत तनावग्रस्त बनेको छ।

नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो। उक्त निर्णयले सीमावर्ती व्यापार, स्थानीय रोजगार तथा राजस्व संकलनमा नकारात्मक असर पर्ने भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन्।

आन्दोलनकारीहरूले बुधबार बिहान करिब ८:३० बजेदेखि बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा सडकको बीचभागमा बेन्च राखेर हुलाकी मार्ग अवरुद्ध गरेका थिए। केही समयसम्म यातायात पूर्ण रूपमा प्रभावित हुँदा यात्रुहरू अलपत्र परेका थिए भने सवारी साधन लामो लाइनमा रोकिएका थिए।

स्थानीय व्यापारी तथा सर्वसाधारणले बरियारपट्टी छोटी भन्सार कार्यालय सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिको मुख्य आधार भएको बताएका छन्। उनीहरूका अनुसार भन्सार कार्यालय बन्द भएपछि साना व्यापारी, ढुवानी व्यवसाय, दैनिक उपभोग्य वस्तुको कारोबार तथा स्थानीय रोजगारीमा प्रत्यक्ष असर पर्नेछ। साथै, अनौपचारिक तथा अवैध व्यापार बढ्ने खतरा समेत रहेको उनीहरूको भनाइ छ।

प्रदर्शनकारीहरूले सरकारसँग तत्काल निर्णय फिर्ता लिन तथा भन्सार कार्यालय पुनः सञ्चालन गर्न माग गरेका छन्। आन्दोलनमा बजार व्यवस्थापन समिति अध्यक्ष अम्बेय कुमार यादव, सुखीपुर उद्योग व्यापार समिति सचिव सञ्जय कुमार यादव, वडा अध्यक्ष विनोद यादव लगायत व्यापारी, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यता, जिल्ला प्रहरी कार्यालय सिरहा का डिएसपी तथा प्रवक्ता रमेशबहादुर पाल ले आन्दोलनकारीसँग वार्ता तथा समन्वय भइरहेको जानकारी दिएका छन्। उनका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास जारी छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख बासुदेव पाठक स्वयं घटनास्थलमा खटिएर अवस्था सामान्य बनाउने प्रयासमा जुटेका छन्।

आन्दोलनरत पक्षले सरकारको निर्णय नसच्याए आन्दोलन अझ सशक्त बनाइने चेतावनी दिएको छ। आन्दोलन समितिले आगामी दिनका लागि चरणबद्ध कार्यक्रमसमेत सार्वजनिक गरेको छ।

घोषित आन्दोलनका कार्यक्रम

२०८३ वैशाख २५ गते : बजार बन्द गर्दै बिहान ७ बजेदेखि ११ बजेसम्म चक्काजाम

२०८३ वैशाख २६ गते : बजार बन्द गरी बिहान ८ बजेदेखि १० बजेसम्म र्याली तथा कोणसभा

२०८३ वैशाख २७ गते : दिनभर चक्काजाम तथा बेलुका मसाल जुलुस

२०८३ वैशाख २८ गते : बेलुका ७ बजे अनिश्चितकालीन हडतालबारे बृहत् छलफल

स्थानीयवासीका अनुसार बरियारपट्टी छोटी भन्सार केवल राजस्व संकलनको केन्द्र मात्र नभई सीमावर्ती क्षेत्रको आर्थिक चलायमानताको प्रमुख आधार हो। त्यसैले कार्यालय बन्द गर्ने निर्णयले समग्र स्थानीय अर्थतन्त्र प्रभावित हुने भन्दै आन्दोलन थप चर्किन सक्ने संकेत देखिएको छ।